गत सातामा नेप्से १४५.०८ अंकले गिरावट
काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा उच्च अंकले गिरावट आएको छ । साताको पाँच दिन भएको कारोवारमा नेप्से १४५.०८ अंक घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रवार २२२३.७८ बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोवार शुक्रवारसम्म १४५.०८ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको छ । शेयर बजार लोमो समयदेखि निरन्तर रुपमा गिरावट हुँदै आएको छ । बजारमा आएको निरन्तर गिरावटका कारण १० महिना अघि ३२ अंक नजिक पुगेको नेप्से इन्डेक्स करिव ११२० अंकले गिरावट आएर २०७८.७० अंकको बिन्दुमा झरेको छ । चालु आर्थिक वर्षको शुरुवातसँगै बैंकिङ प्रणालीमा आएको लगानी योग्य रकम (तरलता) को अभाव तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले शेयर धितो कर्जामा लगाएको ४, १२ करोडको नीतिका कारण शेयर बजार घट्दै गएको छ । लगानी कर्ताहरुले आन्दोलनदेखि ४/१२ करोडको व्यवस्थालाई संशोधन गर्न बारम्बार अर्थमन्त्री तथा राष्ट्र बैंकसँग माग गर्दै आएका छन्। आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा ४/१२ नीति हटाउन माग गरे पनि सरकारले शेयर लगानी कर्ताको माग सुनुवाइ भएको देखिएको छैन । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि शेयर बजारमा सुधार आउने लगानीकर्ताको अपेक्षा थियो । तर, सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट शेयर बजार मैत्री नदेखिएसँगै बजार भारी अंकले घट्दै गएको छ । सातामा पाँच दिन भएको कारोवारमा पाँचै दिन नेप्सेमा गिरावट आएको छ । जेठ १५ गते अर्थमन्त्रीले संसदमा प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटपछि अर्थात् साताको पहिलो कोरोवारका दिन सोमवार नेप्से परिसूचक ४५.०९ अंक घटेर २१७८.६९ बिन्दुमा झरेको थियो । उक्त दिन कारोबारमा आएका २२७ कम्पनीको ३ लाख ५६ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । त्यस्तै, साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३५.५३ अंक घटेर २१३७.९२ बिन्दुमा झरेको थियो । मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि सामान्य गिरावट आएको थियो । मंगलवार कारोवारमा आएका २२९ कम्पनीको लाख ६९ हजार कित्ता शेयर १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको ३७ खरिदबिक्री भएको थियो । बुधबार पनि नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको थियो । बुधबार कारोबारमा आएका २२७ कम्पनीको ३० लाख २० हजार कित्ता शेयर १ अर्ब ७ करोड ८५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । त्यस्तै, बिहीबार शेयर बजार मापन गर्ने सूचक १८.२६ अंकले घटेर परिसूचक २११२.४७ बिन्दु झरेको थियो । बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको सेयर किनबेच भएको थियो । साताको अन्तिम कारोबार दिन नेप्से ३३.७६ अंक घटेर २०७८.७० बिन्दुमा झरेको छ। शुक्रवार कारोबारमा आएका २२६ कम्पनीको ३८ लाख ४८ हजार कित्ता शेयर १ अर्ब ३० करोड ७३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । त्यस्तै, नेप्से परिसूचकमा उच्च अंकले गिरावट आउँदा सातामा नेप्सेको कुल बजार पुँजीकरण २ खर्बभन्दा बढी घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ६६ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण घटेर २९ खर्ब ५९ अर्बमा सिमित भएको छ ।
धमाधम आईपीओ आउँदै, जेठमा मात्रै पाँच कम्पनीले पाए स्वीकृति (कुनले कति ?)
काठमाडौं । प्राथमिक बजारमा अब धमाधम आईपीओ निष्काशन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले एक पछि अर्को कम्पनीलाई धमाधम स्वीकृति दिएसँगै उनीहरुलाई सेयर निष्काशन तथा बिक्री गर्न बाटो खुला भएको हो । बोर्डले एक महिनामा मात्रै ५ वटा कम्पनीलाई आईपीओको अनुमति दिएको छ । जसमा एक लघुवित्त रहेको छ भने बाँकी सबै हाइड्रो पावर कम्पनीहरु रहेका छन् । यो जेठ महिना (१० गतेदेखि १८ गतेसम्म) मा मात्रै आदर्श लघुवित्त वित्तीय संस्था, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, सयपत्री हाइड्रो पावर र मन्दकिनी हाइड्रोपावरले आईपीओ स्वीकृति पाएका हुन् । यससँगै उनीहरुलाई प्राथमिक बजारमा सेयर बिक्री गर्न बाटो खुला भएको छ । स्वीकृति पाएका यी कम्पनीले कूल ६० करोड ७० लाख ७७ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छन् । जसमध्ये सबैभन्दा बढी श्वेतगंगा हाइड्रोले जारी गर्ने छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरका ३९ लाख ८२ हजार ५०० कित्ता सेयर अर्थात ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति पाएको हो । उक्त सेयर निष्काशन गर्न श्वेतगंगाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । जुन सेयर आयोजना प्रभावितका स्थानिय तथा सर्वसाधारणले भर्न पाउने छन् । त्यस्तै, राप्ती हाइड्रोले २९ करोड ४१ लाख रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । यता मन्दाकिनी हाइड्रोले सेयर निष्काशन गर्न बिओके क्यापिटल मार्केटलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । जसले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरका १७ लाख ६४ हजार ११० कित्ता सेयर निष्काशन गर्न बोर्डको अनुमति पाएको छ । त्यसैगरी, सयपत्री हाइड्रोपावरले ९ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । बोर्डको अनुमति पाएको कम्पनीले एनआईबीएल एस क्यापिटल मार्फत ९ लाख कित्ता सेयर निष्काशन गर्ने छ । लघुवित्तबाट अनुमति पाएको आदर्श लघुवित्तले पनि अब छिट्टै ६७ लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने छ । संस्थाले सो बराबरको ६७ हजार कित्ता सेयर जारी गर्न बिओके क्यापिटल मार्केटलाई सेयर निष्काशनकर्तामा नियुक्त गरेको छ । यससँगै, लघुवित्तको सेयर सर्वसाधारणले भर्न पाउने छन् भने बाँकी रहेका हाइड्रोको सेयर सम्बन्धित क्षेत्रका आयोजना प्रभावित बासिन्दालेसहित सर्वसाधारणले भर्न पाउने छन् । त्यस्तै, गत बैशाखमा मात्रै तीन हाइड्रोपावरले आईपीओको स्वीकृति पाएका हुन् । बोर्डले हिमालयन हाइड्रोपावर, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र अप्पर हेवाखोला हाइड्रोपावरलाई २०७९ बैशाखमा आईपीओे निष्काशन गर्नको लागि बाटो खुला गरिदिएको हो । जसमध्ये हिमालयन हाइड्रोले २२ लाख ५० हजार कित्ता, अप्पर सोलु हाइड्रोले ३३ लाख ७ हजार ५०० र अप्पर हेवाखोला हाइड्रोले २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएका हुन् । बोर्डले चालु आर्थिक वर्षमा मात्रै विभिन्न कम्पनीहरुलाई ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । २०७८ साउनदेखि २०७९ जेठ २१ गतेसम्ममा २२ वटा कम्पनीले ५ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति पाएका हुन् । जसमध्ये अधिकांश कम्पनीले जारी गरिसकेका छन् भने केहीले बिक्री खुला गर्न बाँकी छ ।
बिन्ध्यवासिनी हाइड्रोको सेयर रजिष्टारमा सानिमा क्यापिटल नियुक्त
काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्टारमा सानिमा क्यापिटल नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि दुबै संस्थाबीच शुक्रबार (जेठ २० गते) सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यससँगै अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु सानिमा क्यापिटल मार्फत हुने छ । हाल हाइड्रोको सेयर निष्काशन तथा बिक्री खुला भइरहेको छ । जसको निष्काशन तथा बिक्री प्रबन्धकको काम पनि सानिमा क्यापिटलले नै गरिरहेको छ ।