सेयर बजारको समस्या समाधान गर्न बन्यो सुझाव समिति

काठमाडौं । सेयर बजारको समस्या समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन भएको छ । अर्थमन्त्रालयले जेठ २५ गते नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल बसेर चार सदस्यीय सुझाव समिति गठन गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डको ३० औंं वार्षिकोत्सवको अवसरमा बोल्दै सो जानकारी गराएका हुन् । उनका अनुसार धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा अर्थ मन्त्रालय र राष्ट्र बैंकको प्रतिनिधीसहित चार सदस्यीय समिति गठन गरिएको हो । यससँगै, उक्त समितिले दिएको सुझावको आधारमा सम्बन्धित निकायले गर्नुपर्ने कामहरु गरिने समेत उनले बताए । यता, पुँजीबजार सुधारका लागि भन्दै लगानीकर्ता तिलक कोइरालाको संयोजकत्वमा बनेको संघर्ष समितिले जेठ २३ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

४/१२ करोडको नीतिमा सहजीकरण गर्ने गभर्नरको आश्वासन

काठमाडौं । सेयर बजारका लगानीकर्ताले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेका छन् । नेपाल पुँजीबजार संघको अध्यक्ष राधा पोखरेलको नेतृत्वमा गएको टोलीले मंगलबार गभर्नरलाई भेटेका हुन् । भेटमा लगानीकर्ताहरुले सेयर बजारको पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए । अध्यक्ष पोखरेलका अनुसार उक्त टोलीले सेयर बजारमा परेको दवाव, सेयर धितोमा ४ करोड र १२ करोडको क्याप, सीडी र सीसीडी लगायतको बारेमा अवगत गराएका हुन् । लगानीकर्ताको भनाइलाई ध्यानमा लिँदै गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको अवस्थालाई मध्यनजर गर्दै लगानीकर्ताको समस्यालाई गम्भीर रुपले अध्ययन गर्ने बताएका लगानीकर्ता पोखरेलले भनिन् । साथै, अधिकारीले त्यसतर्फ कसरी सहजिकरण गर्नको लागि छलफल अगाडि बढाउने समेत बताएका पोखरेलले जानकारी गराइन् । ‘हामीले अहिलेको अवस्थामा ४ करोड र १२ करोडलाई खारेजी नै गर्न सकिन्न भने पनि त्यसलाई परिपत्रबाट जारी गरेर समय बढाउन सुझाव दियौं,’ अध्यक्ष पोखरलले भनिन्- ‘त्यसमा गर्भनरज्यूले अहिले नै यो गर्छौं भन्ने अवस्था छैन तर पनि योभन्दा कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्छौं भन्नुभयो ।’ संघको अध्यक्ष राधा पोखरेलको नेतृत्वमा गएको टोलीले बजार सुधारका लागि ४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका छन् । जसमा सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपले खारेज गरिनुपर्ने माग छ । त्यस्तै, सीसीडीलाई सीडीमा कायम गरिएकोमा यसलाई खारेज गरी पुनः सीसीडीमा नै कायम गर्न माग गरेका छन् । त्यसैगरी, भारित औषत दर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औषत १०० कायम गर्न र पुँजी बजारलाई सात प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिन समेत लगानीकर्ताको माग छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीलाई पुँजी बजारको समस्या तत्काल समाधान गर्न निर्देशन दिएसँगै लगानीकर्ता र अधिकारीबीच भेटवार्ता भएको हो । तर सोमबार हुने भनिएको भेटवार्ता गभर्नर अधिकारीको व्यस्तताले गर्दा एक दिन पछि सरेको हो । सम्बन्धित सामग्री : गभर्नरलाई प्रधानमन्त्रीको फोन : पुँजी बजारको समस्या तत्काल समाधान गर्नुस्

राताम्मे बजारमा दुई बैंकको कारोबार शीर्ष स्थानमा

काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे भएको छ । पछिल्लो समय दैनिक घटीरहेको बजारले मंगलबार पनि निरन्तरता पाएको हो । कारोबार खुलेदेखि निरन्तर घटेको नेप्से परिसूचक अन्त्यमा ४५.५९ अंकले घटेर २०२०.२३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.२१ प्रतिशतले घटी हो । घटेको बजारमा १ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २३४ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा वाणिज्य बैंक रहेका छन् । मंगलबार एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको एकैदिन ६ करोड ११ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा कुमारी बैंक छ । बैंकको एकैदिन ५ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यी दुईको सेयर मूल्य प्रतिकित्ता क्रमशः ७०८.९० र २०१.५० रुपैयाँ छ । जुन अघिल्लो दिनको तुलनामा एनआईसीको सेयर मूल्य प्रतिकित्ता १८.१० र कुमारीको २.५० रुपैयाँले घटी हो । त्यस्तै, टप लुजरको अग्रस्थानमा पनि वाणिज्य बैंक छ । हिमालयन बैंकको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.९७ प्रतिशतले घटेर प्रतिकित्ता ३२३.१० रुपैयाँमा झरेको छ । जुन सोमबारको तुलनामा ३५.८० रुपैयाँले घटी हो । मंगलबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । संस्थाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १९३.२० रुपैयाँले घटेर प्रतिकित्ता २१२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, मंगलबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । बजारमा निर्जीवन बीमा समूहको सबैभन्दा बढी अर्थात १३९.७८ अंकले घटेको हो ।