आयोजना प्रभावित इलामका बासिन्दाका लागि पिपुल्स पावरको आइपीओ आउँदै
काठमाडौं । पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार ८ गतेदेखि प्रतिकित्ता १०० अङ्कित दरमा छ करोड ३२ लाख ६० हजार मूल्य बराबरको छ लाख ३२ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गर्ने भएको हो । कूल निष्कासनमध्ये आयोजनाबाट असर पर्ने इलाम जिल्लाको इलाम नगरपालिका–१ र ४ का बासिन्दालाई एक लाख ८९ हजार ७८० कित्ता र ती वडाबाहेक इलाम जिल्लाका बासिन्दाले आगामी असार २२ गतेसम्म चार लाख ४२ हजार ८२० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सो अवधिमा मागबमोजिम आवेदन नपरे साउन ५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि पुनः आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका–१ र ४ मा पर्ने पुवा खोलामा चार दशमलव ९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै नेपाल बङ्गलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कर्मशियल बैंकको राँके, मङ्गलबारे, विलौते, तीन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरनपी–बिबी इस्युअर’ रेटिङ प्रदान गरेको छ ।
एक्सेल डेभलपमेन्टले घोषणा गर्यो गत वर्षको लाभांश
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ८.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । प्रस्तावित लाभांश हालसम्मकै न्यून हो । संस्थाले आर्थिक वर्ष २०६७/६८देखि आर्थिक वर्ष २०७६र७७ सम्ममा सेयरधनीलाई न्यूनतम १२.६३ र अधिकतम ५२.६४ प्रतिशतसम्म लाभांश वितरण गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले १३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले शिलबन्दी बोलपत्रमार्फत १३ लाख १७ हजार ४७१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आगामी असार ८ गतेदेखि सो मात्राको सेयर लिलामीमा राखेको हो । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९७ हजार ९२१ कित्ता र एनआईसी एशियाको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक सेयर हुन् । जसको मूल्य प्रतिकित्ता न्यूनतम क्रमशः ७०० र ४०० रुपैयाँ रहेको छ । इच्छुकले न्यूनतम एक हजार कित्ता सेयरमा आवेदन दिनसक्नेछन् । उनीहरुले असार ८ गतेदेखि असार १६ गतेभित्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा आवेदन दिइसक्नुपर्ने छ । सेयरको न्यूनतम मूल्य ७ सय (नेपाल लाइफ) र ४ सय रुपैयाँ (एनआईसी एशिया) तोकिएको छ । त्यसैले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि पेश गर्नुपर्नेछ । सोभन्दा कम मूल्यको आवेदन सबै रद्द हुने छ । इच्छुकले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल र ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु आवेदन दिन सक्नेछन् ।