नेप्सेले तय गर्यो ६ दिन खुल्ने सेयर बजारको कारोबार समय

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले असार महिनादेखि सातामा ६ दिन सेयर कारोबार खुलाउने भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले जेठ २३ गते एक सूचना जारी गर्दै अब शनिबार बाहेक साताको ६ दिन नै सेयर कारोबार खुलाउने निर्णय गरेको हो । जसको लागि नेप्सेले कारोबार समय पनि तय गरिसकेको छ । सो अनुसार आइतबारदेखि बिहीबारसम्म हालकै नियमित समय अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म (चार घण्टा) कारोबार खुल्ने छ । त्यस्तै, हरेक शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म (२ घण्टा) खुल्ने नेप्सेको कारोबार शाखाले जानकारी गराएको छ । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेसँगै नेप्सेले नयाँ व्यवस्था गरेको हो । यससँगै दोश्रो बजारका लगानीकर्ताले सातामा ६ दिननै सेयर किनबेच गर्न पाउने भएका छन् । सो अनुसार लगानीकर्ताले भोलि जेठ ६ गते शुक्रबार पनि दुई घण्टा सेयर खरिद बिक्री गर्न सक्नेछन् । यसअघि सातामा ५ दिन मात्रै सेयर कारोबार खुल्ने गरेको थियो ।

ग्लोबल आईएमई र बिओकेको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सले असार २ गतेदेखि मर्जर प्रकृयामा रहेका ग्लोबल आईएमई र बिओकेको सेयर कारोबार रोक्का गरिदिएको हो । यी दुई बैंक एक आपसमा गाभिनको लागि असार २ गते नै बिहान ८ बजे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै उक्त मर्जर प्रकृया नसकिएसम्म दुबै बैंकको सेयर कारोबार रोक्का हुने छ । सम्बन्धित समाचार बराबरी हैसियतमा ग्लोबल र बिओकेबीच मर्जर सम्झौता, अध्यक्ष ढकाल र सीईओ बज्राचार्य

सेयर सस्तिएको बेलामा सर्वोत्तम सिमेन्टले थाल्यो सेयर निष्काशनको तयारी

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा सेयर निष्काशनको गृहकार्य थालेको छ । कम्पनीले बुक विल्डिङ विधिबाट सेयरको प्रिमियम रकम तय गर्दैैछ । बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्नको लागि कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल डाकेको छ । कम्पनीले ग्लोवल आईएमई क्यापिटल, एनआईविएल क्यापिटल, प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ भने भने कम्पनीको विवरणपत्र र लेखापरिक्षण प्रतिवदेन पनि सार्वजनिक गरेको छ । यसअघि यस कम्पनीले बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्ने क्रममा नियामकलाई प्रभावित पारेर बढी मूल्यमा सेयर निष्काशन गर्न लागेको आरोप लागेको थियो । सोही विवादमा कारण नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगान र नेपाल स्टक एक्स्चेञ्जमा महाप्रबन्धक चन्द्रसिंह साउदको जागिर गएको थियो ।