मंगलबार सेयर बजारमा उछाल : करिब ४ अर्बको कारोबार, ५ कम्पनीमा सर्किट

काठमाडौं । नयाँ सरकार गठन भएसँगै सेयर बजारमा उछाल आएको छ । निरन्तर ओरालो लागेर तल्लो बिन्दुमा पुगेको सेयर बजार अर्थमन्त्रीमा विष्णु पौडेल नियक्त भएसँगै उकालो लागेको हो । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्रीसँग भेट गरेर संकटमा परेको अर्थतन्त्र जोगाउन आग्रह गरेका थिए । सोही विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र नै पहिलो प्राथमिकतामा राखेको बताएपछि लगानीकर्तामा उत्साह छाएको छ । मंगलबार सेयर बजार ४ महिना यता कै उच्च विन्दुमा पुगेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ अंकमा बन्द भएको छ । यसअघि गत भदौ १४ गते नेप्से सूचक १९९५.३४ अंकमा थियो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार सेयर कारोबार झण्डै ४ अर्ब रुपैयाँको भएको छ । जुन ५ महिनायता कै उच्च कारोबार भएको हो । मंगलबार २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर ६३ हजार ६७ पटक किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहमा हरियाली छाएको छ । मंगलबार ५ कम्पनीको सेयरमा सर्किट लागेको छ । सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, सृजनशिल लघुवित्त र धौलागिरी लघुवित्त रहेको सेयर मू्ल्य सकिर्ट लागेको हो । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मंगलबार सबैभन्दा धेरै लक्ष्मी बैंकको कारोबार भएको छ । बैंकको २० करोड ९४ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, एनटीसीको १४ कोड २ लाख ८ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड १४ लाख ९६ हजार रुपैयाँ, नबिल बैंकको ११ करोड ३२ लाख २९ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको १० करोड १२ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

लाभांश : १३ बैंकको घट्यो, ७ बैंकको बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरुको लाभांशदर घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकहरुको लाभांश दर घटेको हो । गत वर्षको नाफाबाट बैंकहरुले सेयरधनीहरुलाई औषतमा १० प्रतिशत मात्रै लाभांश वितरण गरेका छन् । २६ वटा वाणिज्य बैंकहरुको लाभांश औषतमा ४.११ प्रतिशत घटेको छ । गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई वाणिज्य बैंकहरुले औषतमा १०.२६ प्रतिशत मात्रै लाभांश वितरण गरेका छन् । जसमा औषत ४ प्रतिशत बोनस सेयर वितरण गरेका छन् भने औषत ५.९३ प्रतिशत नगद लाभांश वितरण गरेका हुन् । अघिल्लो वर्षको तुलनामा १३ वटा बैंकको लाभांश घटेको छ । जसमा नबिल बैंक, हिमालयन, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, एनएमबि बैंक, प्रभु बैंक, मेगा बैंक र सेञ्चुरी गरी १३ बैंकले अघिल्लो वर्षको तुलनामा लाभांश घटाएका हुने । यस्तै, गत वर्षको नाफाबाट ७ वटा बैंकले लाभांश बढाएका छन् । बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, एनसीसी बैंक र नेपाल एसबिआई बैंकले अघिल्लो वर्ष भन्दा धेरै लाभांश दिएका हुन् । सिभिल बैंकले भने अघिल्लो वर्ष वितरण गरे बराबर नै लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको लाभांश स्थिर रहेको छ । विभिन्न ४ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेका छन् भने एक बैंकले बाँकी नै रहेको छ । माछापुच्छ्रे बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र एनआईसी एशिया बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् भने कृषि विकास बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ । एनआईसी एशिया बैंकले लगातार २ आर्थिक वर्ष सेयरधनीहरुलाई लाभांश वितरण गरेको छैन । यस वर्ष सनराइज, लक्ष्मी र माछापुच्छ्रे बैंक पनि थपिएका छन् । हालसम्म १० वटा वाणिज्य बैंकको लाभांश वार्षिक साधारण सभाले पािरत गरिसकेको छ भने ११ वटा बैंकको लाभांश पारित हुन बाँकी रहेको छ । १० बैंकको लाभांश साधारण सभाबाट पारित ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १०.६ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी कूूल १३.६ प्रतिशत लाभांश वितरण गरेको हो । बैंक अफ काठमाण्डुले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चूक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गरेको हो । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको हो । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कूल १०.९९ प्रतिशत लाभांश वितरण गरेको हो । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको हो । मेगा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सानिमा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख बराबरको नगद लाभांश वितरण गरेको हो । ११ बैंकको लाभांश पारित हुन बाँकी नबिल बैंकले गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्ने बैंक बनेको छ । गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चूक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत अर्थात् बोनस सेयर र कर प्रयोजनका लागि ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायमु चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल बैंक बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गर्नेछ । एनएमबि बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रभु बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांस वितरण गर्ने भएको हो । सिभिल बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ५. प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांस वितरण गर्ने भएको हो ।

आज ५ कम्पनीको सेयर किनेपछि लाभांश पाइने, कुनको कति ?

काठमाडौं । विभिन्न ५ कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक, राधी विद्यूत कम्पनी र बिन्ध्यबासिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक, राधी विद्यूत कम्पनी र बिन्ध्यबासिनी हाइड्रोपावरले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ भोलि बुधबार बुक क्लोज गर्ने भएका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरुले मात्र यी ५ कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद (कर समेत) गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले २९ औं वार्षिक साधारण सभा पुस २५ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले २१ औं वार्षिक साधारण सभा पुस २८ गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ९ प्रतिशत नगद गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले १५औं वार्षिक साधारण सभा पुस २६ गते अमृतभोग कालिकास्थान, काटमाडौंमा बिहान ११ बजे बोलाएको छ । राधी विद्युत कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २८ गते कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश गरी कूल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले छैठौं बार्षिक साधारणसभा पुस २२ गते केन्द्रिय कार्यलय बानेश्वर काठमांडौमा बिहान १० बजे बोलाएको छ ।