नेप्सेमा हर्षउल्लास : ६४ अंकले बढ्यो बजार, ३‍० कम्पनीको सेयर सर्किट लेभलमा

काठमाडौं । मंगलबारको सेयर बजार ६४.८७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर २१२५.९४ विन्दुमा पुगेको छ । यसरी सेयर बजार बढ्दा ३० कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ३० कम्पनी मध्ये ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालयन डिस्टलिरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्त रहेको छ । नेप्सेको अनुसार आज ८७ लाख कित्ता सेयर किनबेच हुँदा साढे ३ अर्ब रुपैयाँको कारोबार भएको छ । यस्तै, सबैभन्दा बढी कारोबार हिमालयन डिस्टलिरीको ११ करोड रुपैयाँको भएको छ ।

सेयर बजारबारे प्रधानमन्त्रीकोे चासो, अनुत्पादक क्षेत्रमा ऋण ठप्प पार्न निर्देशन

काठडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुत्पादक क्षेत्रमा कर्जा लगानी ठप्प पार्न निर्देशन दिएका छन् । बुधबार अर्थमन्त्री विष्णु पौडेलर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्दै उनले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह ठप्प पार्ने निर्देशन दिएका हुन् । उनले छलफलमान सेयर बजारको विषयमा पनि चासो राखेको प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य किरणले बताए । ‘प्रधानमन्त्रीज्यूले अनुत्पादन क्षेत्रमा कर्जा लगानी रोक्न निर्देशन दिनु भएको छ, उहाँले सेयर बजारको विषयमा पनि चासो राख्नु भएको छ, देशको अर्थतन्त सुधारका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने उहाँको धारणा थियो,’ उनले विकासन्युजसँग भने । यस्तै, देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्याका विषयमा गर्भनर र अर्थमन्त्रीसँग छलफल गरेका छन् । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएका थिए ।

सनराइज क्यापिटलले माघ १० गतेदेखि फोकस्ड इक्विटी फण्ड बिक्री खुला गर्ने

काठमाडौं । सनराइज क्यापिटलले माघ १० गतेदेखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फोकस्ड इक्विटी फण्ड एक बन्दमुखि योजना हो । योजनाको अवधि १० वर्षका रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई निष्काशन गर्ने भएको हो । जसमध्ये १ करोड ८० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंकलाई सुरक्षित राखिएको छ । बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्ने भएको हो । क्यापिटलको उक्त फण्ड छिटोमा माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ २४ गतेसम्म लम्बिनेछ । उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । सनराइज फोकस्ड इक्विटी फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी ३) रेटिङ्ग प्रदान गरेको छ । कोष प्रबद्र्धकलाई केयर एनपी ए माइनस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा कम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।