१७ अंकले बढ्यो नेप्से, झण्डै ३ अर्बको कारोबार

काठमाडाैं । साेमबारकाे सेयर बजार १७.५६ अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)काे अनुसार साेमबार सेयर बजार बढेर २०६३.८३ विन्दुमा पुगेकाे छ । नेप्सेकाे अनुसार आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ९६ रुपैयाँकाे काराेबार भएकाे छ । आज सबैभन्दा बढी काराेबार हुने कम्पनीमा नबिल बैंक रहेकाे छ । बैंककाे आज १६ कराेड रुपैयाँ बढीकाे सेयर काराेबार भएकाे छ । यस्तै, साेमबार ४ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरु क्रमश: धाैलागिरी लघुवित्त, सृजनशिल लघुवित्त, खप्तड लघुवित्त र अजाेड इन्स्याेरेन्स रहेकाे छ ।  

नबिल इन्भेष्टमेन्टले घोषणा गर्याे ५ करोड ४० लाख रुपैयाँ लाभांश

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले १३ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव सहित आफ्नो वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सञ्चालक समितिको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते बिहान ११ बजे कम्पनीको सभा कक्ष सेन्ट्रल प्लाजा नारायाणचौर काठमाडौंमा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को यस कम्पनी तथा साविकको नेपाल बङ्गलादेश क्यापिटलको छुट्टाछुट्टै सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । यस्तै, यस कम्पनी र साविकको नेपाल बङ्गलादेश क्यापिटलको लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छुट्टाछुट्टै छलफल गरि पारित गर्नेछ । यस्तै, कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कर सहित ५ करोड ४० लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्नेछ । यस्तै, साविकको नेपाल बङ्गलादेश क्यापिटलको आर्थिक वर्ष २०७९/८० को मंसिर मसान्त सम्मको वित्तीय विवरणहरुको लेखापरीक्षणको निमित्त लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारीश्रमिक निर्धारण गर्नेछ ।

आज यी ५ कम्पनीको सेयर खरिद गरे लाभांश पाइन्छ, कुनको कति ?

काठमाडौं । विभिन्न ५ कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । सिभिल बैंक, सिवाईसी लघुवित्त, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी ५ कम्पनीले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् । सिभिल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न १२ औं वार्षिक साधारण सभा पुस २८ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । आइसिएफसी फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्स कम्पनीले लाभांश पारित गर्न पुस २९ गते १९ औं वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे बोलाएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगद गरी कूल ७.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्सले पुस २९ गते २८ औं वार्षिक साधारण सभा रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे बोलाएको छ । पोखरा फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद गरी कूल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २९ गते २६ औं वार्षिक साधारण सभा दरबारथोक ब्यांक्वेट पोखरा–९, कास्कीमा बिहान ९ बजे बोलाएको छ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले पुस ३० गते चौंथो वार्षिक साधारण सभा केन्द्रिय कार्यालय पोखरा महानगरपालिका ८ सभागृहचोकमा बिहान ११ बजे बोलाएको छ ।