सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकति मूल्य दरका ३३ लाख ३२ हजार ५ सय कित्ता आयोजना प्रभावितका लागि बिक्री गर्ने भएको हो । जसमध्ये ४० प्रतिशत अर्थात १३ लाख ३३ हजार कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ का बासिन्दाहरुका लागि र ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका लागि निष्काशन गर्ने भएको हो । साथै सर्वसाधारणमा निष्काशन हुने सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा माघ १८ गते र ढिलोमा फागुन ४ गतेसम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १८ गतेभित्र आवेदन दिईसक्नु पर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । स्थानिय बासिन्दाले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
एभरेष्ट बैंकको २ अर्बको ऋणपत्र आजदेखि बिक्री खुला, ब्याज कति दिन्छ ?
काठमाडौं । एभरेष्ट बैंकले आज (पुस २५ गते, सोमबार) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ७.५० प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक उर्जा ऋणपत्र २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले २ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दर मूल्यका २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १२ लाख कित्ता व्यक्तिगतका लागि र बाँकी ४० प्रतिशत अर्थात् ८ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले छिटोमा पुस २९ गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ । साथै सिडिएससीको मेरो सेयर वेबसाइट वा एपबाट पनि सिआस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रलाई केयर नेपालले केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।
ब्रोकर एशोसिएसनको अध्यक्षमा सापकोटा निर्वाचित, कार्यसमितिमा को-को चयन भए ?
काठमाडौं । स्टक ब्रोकर एशोसिएसनको नयाँ कार्यसमितिको अध्यक्षमा सापकोटा निर्वाचित भएका छन् । सेयर ब्रोकरहरुको छाता संगठन नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका हुन् । उनले प्रतिद्वन्द्वी गुणनिधि भुसाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सापकोटाले २८ मत ल्याएका थिए भने भूसालले १६ मत मात्रै ल्याए । ब्रोकर्स एसोसिएसनको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएपश्चात् अध्यक्ष पदका लागि निर्वाचन भएको थियो । अध्यक्ष सापकोटा स्वर्णलक्ष्मी सेक्युरिटिज (ब्रोकर नम्बर ३७) का सञ्चालक हुन् भने भूसाल आर्यातारा सेक्युरिटिजका सञ्चालक हुन् । अध्यक्ष बाहेक अन्य कार्यसमिति पदमा भने सर्वसम्मति भएको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा लिंक स्टक मार्केट सेक्युरिटीज (ब्रोकर नम्बर ४१)का सञ्चालिका सरिता अधिकारी, महासचिवमा सुनधारा सेक्युरिटीज (ब्रोकर नम्बर ५२)का सञ्चालक फणिन्द्र ढकाल, सचिवमा स्वेता सेक्युरिटीजका सञ्चालक सुयोग अधिकारी र कोषाध्यक्षमा नासा सेक्युरिटीज (ब्रोकर नम्बर ५८)का सञ्चालक मदन पौडेल निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, सदस्यहरुमा अरुण सेक्युरिटी (ब्रोकर नम्बर ३)का सञ्चालक प्रज्वल उप्रेती, सुमेरु सेक्युरिटजी (ब्रोकर नम्बर ४९)का सञ्चालक प्रियन्सु अग्रवाल, प्रज्ञा सेक्युरिटीज (ब्रोकर नम्बर १०)का सञ्चालक मित्रालाल श्रेष्ठ र अनलाइन सेक्युरिटीज (ब्रोकर नम्बर ४९)का सञ्चालक विशाल कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् ।