९ अंकले घट्यो सेयर बजार, ५ अर्बको कारोबार

काठमाडौं । बुधबारको सेयर बजार ९.०१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से० को अनुसार बुधबार सेयर बजार घटेर २१७३.१० विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज १३ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीले ३५ करोड रुपैयाँको गरेको छ । आज ४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएका छन् ।

आइपीओ जारी गर्दै माया खोला हाइड्रोपावर

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात आगामी माघ १३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता १०० अङ्कित दरमा १९ लाख ९२ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन आइपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता शेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ । त्यस्तै दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीले निष्कासन गर्ने शेयरमा लगानीकर्ताले छिटोमा यही माघ १७ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे माघ २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सकिने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिन सकिने जनाइएको छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी माइनस ’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।

सानिमा मिडिल तमोर हाइड्रोपावर आइपीओ निष्कासन, कसले दिने आवेदन ?

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन आइपिओ तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी तीन अर्ब ३३ करोड २५ लाखको १० प्रतिशत अर्थात् रु ३३ करोड ३२ लाख ५० हजार बराबरको प्रतिशेयर रु एक सय दरका ३३ लाख ३२ हजार पाँच सय कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ । जसमध्ये आयोजना अतिप्रभावित क्षेत्र फुङ्लिङ नगरपालिका–१, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका–१ तथा भिक्वाखोला गाउँपालिका–१ र २, मेरिङदेन गाउँपालिका–२ र ३, आठराई त्रिवेणी गाउँपालिका–५ तथा मैवाखोला गाउँपालिका–१ मा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ४० प्रतिशत र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङका बासिन्दाका लागि ६० प्रतिशत शेयर निष्कासन गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । त्यस्तै सर्वसाधारणका लागि रु ४९ करोड ९८ लाख ७५ हजार बराबरको शेयर ४९ लाख ९८ हजार सात सय ५० कित्ता साधारण शेयरको १० प्रतिशत सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जसमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी माघ १८ गते हुनेछ भने ढिलोमा आगामी फागुन ४ मा हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १८ गतेभित्र आवेदन दिनुपर्नेछ । स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले ताप्लेजुङको फक्ताङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्ये तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।