सेयर बजारमा छायो हरियाली, पौने दुई अर्बको कारोबार
काठमाडौं । बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजारमा हरियाली छाए सँगै सबै सूचक सकारत्मक देखिएको छ । आज सेयर बजार २५.५७ अंकले बढेर १९३६.८३ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार ४३ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउनेमा ५ कम्पनीमा चारवटा हाइड्रोपावर कम्पनी रहेको छ भने एउटा उत्पादन तथा प्रशोधन कम्पनी रहेको छ । सबैभन्दा बढी कमाउने हाइड्रोपावर कम्पनीहरु सिक्लेस, सयपत्री, रिदी र पन्चकन्या माइ रहेका छन् । यस्तै, आज सबैभन्दा बढी रिदी हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज १४ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
प्रतिकित्ता १ सयमा समृद्धि फाइनान्सको साढे ७ लाख सेयर बिक्रीमा
काठमाडौं । समृद्धि फाइनान्सले आज मंसिर १ गतेदेखि संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । फाइनान्सको संस्थापक समूहको ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलाम बढाबढमा बिक्री खुला गरेको हो । फाइनान्सले पहिलोपटक २०७८ चैत्र २९ देखि बैशाख ७ सम्म र दोस्रो पटक गत असार १ देखि असार ९ सम्म लिलाम बढाबढ गरी बिक्री गर्दा पूर्ण आवेदन नपरेकाले पुनः तेस्रो पटक मंसिर १ गतेदखि मंसिर १५ गतेसम्म बिक्री गरेको हो । लगानीकर्ताले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँलाई आधार मानि न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले बैंक अफ काठमाण्डूको विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिनेछ । साथै समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौडा, मकवानपुर, शाखा कार्यालय पुतलीसडक, काठमाडौं, चितवन, पोखरा र बुटवलबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
माउन्टेन इनर्जीको लाभांश घोषणा
काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले साधारण सभा तथा लभांश प्रयोजनार्थ मंसिर २७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले लाभांश वितरणको प्रस्ताव पारित गर्न आगामी पुस ८ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ ।