बजार पुँजीकरण ३१ खर्ब बढी, २२ अर्बको धितोपत्र निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । पछिल्लो एक वर्षमा नेप्से परिसूचक ७०९.४ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार २०७८ पुस मसान्तमा २८५७.८ रहेको नेप्से सूचकाङ्क २०७९ पुस मसान्तमा २१४९.४ कायम भएको छ । जुन प्रतिशतको आधारमा २४.७९ प्रतिशतले घटी हो । २०७९ पुस मसान्तमा धितोपत्र बजार पुँजीकरण ३१ खर्ब ०३ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ । २०७८ पुस मसान्तमा बजार पुँजीकरण ४० खर्ब ३७ अर्ब १३ करोड रुपैयाँ रहेको थियो । २०७९ पुसमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २४९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २२५ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६६.२ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १२.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटेलको हिस्सा १.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्जमा २०७९ पुस मसान्तमा सूचीकृत ७ अर्ब १० करोड सेयरको चुक्ता मूल्य ७ खर्ब २ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को छ महिनामा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ११ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण सेयर, १० अर्ब ८० करोड रुपैयाँ बराबरको बोनस सेयर, ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ९४ अर्ब २१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब २० करोड रुपैयाँ बराबरको डिबेन्चर, ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ४ अर्ब ९ करोड रुपैयाँ बराबरको साधारण सेयर र ९५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल २१ अर्ब ९९ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

२१ सय विन्दुमा नेप्से, एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार

काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार नेप्से ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ३९ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । सोमबार एनआइसी एशिया बैंकको सेयर कारोबार सबैभन्दा बढी भएको छ । आज कम्पनीको ६ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै, आज आदर्श लघुवित्तका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् भने लक्ष्मी बैंक डिबेन्चर २०८८ का सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।

अध्यक्ष हमालको ११ महिनाको काम : आस्वा शुल्क घटाउनेदेखि एनआरएनलाई आईपीओसम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफु बोर्डको अध्यक्ष नियुक्त भएपछि गरेका १० काम सार्वजनिक गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष हमालले ११ महिनाको अवधिमा गरेका १० वटा काम सार्वजनिक गरेका हुन् । उनले यस अवधिमा आफुले सर्वसाधारण लगानीकर्तादेखि लिएर दलाल तथा धितोपत्र व्यापारीको लागि सहज रुपमा लगानी गर्ने वातावरण बनाउन काम गरेको बताएका छन् । आफुले ११ महिनाको अवधिमा बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा १०० ९एक सय० सेवा शुल्क लिन सक्ने विगतको व्यवस्थामा परिमार्जन गरी बढीमा ५ (पाँच) सेवा शुल्क लिन सक्ने व्यवस्था गरेको उल्लेख गरेका छन् । यस्तै, उनले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक सेयर निष्काशनमा १० प्रतिशत सेयर आरक्षण व्यवस्था हुने व्यवस्था मिलाएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । हमाललाई २०६८ फागुन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।  लामो समयदेखि थाइल्यान्डमा बस्दै आएका हमाल केही वर्षअघि नेपाल फर्किएका थिए । यि हुन् हमालका १० काम १. लगानीकर्ताहरुले विकसित बजारमा उपलब्ध भएका विशेषता तथा सुविधा सहितको सेवा प्राप्त गर्न सक्ने गरी नेप्सेको कारोबार प्रणालीसँग आवद्ध हुने गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले कारोबार व्यवस्थापन प्रणाली स्थापना गर्न सक्ने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को तेस्रो संशोधन गरी २०७९ वैशाख १६ देखि लागू गरिएको छ । २. सूचीकृत संगठित संस्थाको गाभ्ने गाभिने क्रममा शेयर कारोवार बर्षौंसम्म रोक्का रहने आम लगानिकर्ताको सेयर बन्धक रहने लगायतका समस्या रहेकोमा “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” बनाई स्पष्ट नीति तथा व्यवस्था गरिएको छ । साथै यस निती अनुरुप १५ दिनभन्दा बढी कारबार रोक्का नरहने व्यवस्था समेत लागु गरिसकिएको छ । गाभ्ने गाभिने प्रक्रियाका लागी दिइएको निवेदन उपर आवश्यक छानबिन गरि बढीमा ३ दिन भित्र स्विकृती दिने व्यबस्था लागु गरिसकिएको छ । ३. सर्वसाधारण लगानीकर्ताको हकहितलाई ध्यान दिदैं बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा १०० (एक सय) सेवा शुल्क लिन सक्ने विगतको व्यवस्थामा परिमार्जन गरी बढीमा ५ (पाँच) सेवा शुल्क लिन सक्ने व्यवस्था गरीएको छ । ४. वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक सेयर निष्काशनमा १० प्रतिशत सेयर आरक्षण व्यवस्था हुने व्यवस्था मिलाईएको छ । उक्त व्यवस्था गरिएसँगै देशको शोधनान्तर स्थिति सबल बनाउँदै विदेशबाट विप्रेषण आप्रवाह औपचारिक माध्यमबाट भित्र्याउनलाई प्रोत्साहन तथा सहयोग भई वैदेशिक विनिमय संचितिमा सहयोग पुगेको छ । यस व्यबस्थाले हुण्डी मार्फत हुने कारोवार निरुत्साहित हुने संभावना प्रवल देखिन्छ। ५. नविनतम सोच तथा ज्ञान भएका तर पर्याप्त स्वपूँजी एंव धितो सुरक्षण नभएका स्टार्ट अपका लागि पुँजी तथा व्यवसायीक ज्ञान बिना धितो दिन मिल्ने अन्तराष्ट्रीय अभ्यास अनुसार देशमा भित्र्याउन पहिलो पटक नेपालमा ९ वटा विशिष्टिकृत लगानी कोष व्यबस्थापकलाई अनुमति पत्र जारी गरीएको । ६. धितोपत्र दलाल तथा व्यापारीको अनुमतिपत्रमा “कोटा प्रणाली मार्फत अनुमति प्रदान गरिदै आएकोमा यसको सेवा तथा गुणस्तर स्वच्छ, निष्पक्ष पारदर्शी र प्रतिष्पर्धी बनाउन ‘ओपन इन्ट्री एण्ड एक्जिट’ निती मार्फत मापदण्ड पुग्ने सवैलाई ३५ दिन भित्र सिमा समय तोकि अनुमति प्रदान गर्न नेपाल सरकारको निर्णय अनुसार नियमावली स्वीकृती गराई आवेदन आह्वान गरीएकोमा सम्मानीत सर्वोच्च अदालतवाट उक्त निर्णय हाललाई कार्यान्वयन नगराउन आदेश भएको । ७. धितोपत्र वजारमा लगानीकर्ताको पहुँच वृद्दि संगसंगै प्रतिस्पर्धी अन्तराष्ट्रीय प्रविधीयुक्त धितोपत्र वजारका लागी आवश्यक आवेदन कार्य अगाडी वढाईएकोमा सम्मानीत सर्वोच्च अदालतको अल्पकालीन आदेश वमोजीम सो सम्वन्धी कार्य हाल स्थगनमा रहेको । ८. वस्तु विनिमय संयन्त्र विकासका लागी आवस्यक कार्य अगाडी वढाईएको छ । वस्तु विनिमय बजार सम्वन्धी ऐन, २०७४ तथा वस्तु विनिमय बजार सम्वन्धी नियमावली, २०७४ जारी भएको पांच वर्ष सम्म पनि यस सम्वन्धी आवश्यक कार्य अगाडि नवढिरहेको अवस्थामा बस्तु विनिमय बजार संयन्त्रको विकास तथा विस्तारका लागि बोर्डले २०७९ । ०६ । ०२ गते सूचना प्रकाशित गरी वस्तु विनिमय बजार स्थापनाका लागि आवेदन माग गरिएकोमा सम्मानीत सर्वोच्च अदालतको अल्पकालिन आदेश बमोजिम सो सम्वन्धी कार्य स्थगन गरिएको छ । ९. धितोपत्र सम्बन्धी कसूरहरुमा संगठित संस्थाका संचालकहरुलाई कारबाही गरी भित्री कारोबार भए नभएको सम्बन्धमा छानबिन गर्न बोर्डको इतिहासमा नै पहिलो पटक दुईवटा केशमा तहकिकात अधिकारी नियुक्त गरी कार्य अगाडि बढाईएको छ । १०. धितोपत्र सम्बन्धी ऐन र सो अन्तरगत बनेका नियमावली, निर्देशिका र विनियमावली अनुरुप कार्य नगर्ने धितोपत्र दलाल व्यवसायीहरुलाई ऐन तथा नियम अनुसार कारबाही गरिएको छ । त्यस्तै, संस्थाको वित्तीय विवरण ढिला गरी पेश गर्ने मर्चेन्ट बैंकरहरुलाई हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेश गर्न सूचीत गरिएको । त्यस्तै क्रेडिट रेटिङ्गमा “स्वार्थको द्वन्द्व” देखिने कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडी बढाईएको छ ।