१५ अंकले घट्यो सेयर बजार, प्राइम लाइफले सबैभन्दा बढी गुमायो

काठमाडौं । मंगलबार सेयर बजार १५.७० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार घटेर २१११.६८ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि घटेको छ । नेप्सेको अनुसार आज ७५ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिडी हाइड्रोपावरले १९ करोड रुपैयाँको गरेको छ । यस्तै, आज सबैभन्दा बढी आम्दानी आदर्श लघुवित्तले गर्दा प्राइम लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी गुमाएको छ ।

मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांश घोषणा गरेको हो । माघ १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १४ करोड १७ लाख रुपैयाँ छ । प्रस्तावित ४.७५ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी १४ करोड ८४ लाख रुपैयाँ पुग्ने छ ।

एशियन हाइड्रोले माघ २७ गतेदेखि आईपीओ बेच्दै, २० हजार कित्ता किन्न पाइने

काठमाडौं । एशियन हाइड्रोपावरले माघ २७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गने भएको छ । कम्पनीले जारी पूँजी ८४ करोड रुपैयाँको २४.७१ प्रतिशतको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ४० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात् ४२ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात् १६ हजार ८ सय कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा फागुन २ गते र ढीलोमा फागुन १२ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीको आईपीओलाई केयर माइनस एनपी बीबी एस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।