१ लाख कित्ता किन्न मिल्ने माया खोला हाइड्रोको आईपीओमा आजसम्म आवेदन दिनुपर्ने

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज माघ १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ १३ गतेदेखि जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशत अर्थात् ३४ करोड रुपैयाँ बरारबको सेयर सर्वसाधारण लगानीकर्ताकाहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा आज माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३४ लाख कित्ता सेयर आईपीओ बिक्री खुला गरेको हो । जसमध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता बाँडफाँट गरिसकेको छ । त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि, ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

भारतीय उद्योगी अडानीको कम्पनीले तीन दिनमा गुमायो ७१ अर्ब डलर

भारत । भारतीय उद्योगी गौतम अडानीको कम्पनीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेपनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार सेयर बजारमा अर्बौं डलर गुमाएको छ । यो गिरावट अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले गत हप्ता एक प्रतिवेदन सार्वजनिक गरी अडानी समूह ‘दशकौंदेखि स्टक हेरफेर र लेखा जालसाजी’ मा संलग्न रहेको आरोप लगाएको थियो । ब्लुमबर्ग न्यूजका अनुसार, तीन दिनको अवधिमा कम्पनीले बजार मूल्यमा लगभग ७१ अर्ब डलर गुमाएको छ । गत साता पनि अडानी समूहका फर्महरुको करिब ५० अर्ब डलर गुमाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकटतम मित्र समेत रहेका अडानी फोब्र्स म्यागाजिनको धनीहरूको सूचीमा पहिलोबाट तेस्रो स्थानमा खस्केका थिए । साठी वर्षीय अडानी गत सोमबार धनीहरुको सूचीमा नवौं स्थानमा थिए, र उनको सम्पत्ति ८५ अर्ब डलरको हाराहारीमा थियो । यसको मतलब उनी एशियाकै सबैभन्दा धनी अर्थात् पहिलो नम्बरको सूचीमा थिए । तर यो ताज भारतीय अर्का व्यवसायी एवं उद्योगी मुकेश अम्बानीले छोटो समयका लागि पहिरिन सफल भएका थिए । अडानी समूहले आफूहरुमाथि ‘दुराशययुक्त’ आक्रमण भएको बताएको छ र आइतबार कम्पनीले ४१३ पृष्ठको एक वक्तव्य प्रकाशन गरी हिन्डेनबर्गको दाबीलाई खण्डन गरेको छ । समूहले हिन्डेनबर्गले लगाएका आरोपहरू ‘झूट बाहेक केही नभएको’ बताएको छ । ‘यो केवल कम्पनीमाथि अनावश्यक आक्रमण मात्र नभई समग्र भारत, भारतीय संस्थाहरूको स्वतन्त्रता, अखण्डता र गुणस्तर, र भारतको विकास र महत्वाकाँक्षा विरुद्धको आक्रमण हो,’ समूहको वक्तव्यमा भनिएको छ । वक्तव्यपछि सोमबार खुलेको बजारमा अडानी इन्टरप्राइजेजको शेयर बजारमा सकारात्मक प्रभाव देखिए पनि अडानी आबद्ध कम्पनीहरुको शेयर बिक्री व्यापक बनेको थियो र त्यसलाई रोक्न कम्पनीको प्रयास सफल भएको थिएन । अडानीले स्टक बिक्री मार्फत २५ अर्ब डलर सङ्कलन गर्ने महत्वाकाँक्षी योजना अघि सारेलगत्तै बजारमा समस्या उत्पन्न भएको थियो । अडानी इन्टरप्राइजेजले प्रति शेयर भारतीय रुपैयाँ ३ हजार ११२ को हाराहारीमा बिक्री गर्न खोजको थियो । हिन्डेनबर्गले अडानीको वक्तव्यको जवाफमा भारतको भविष्य अडानी समूहद्वारा रोकिएको बताउँदै यसले देशलाई व्यवस्थित रूपमा लुट्न खोजेको आरोप लगाएको छ । ‘अडानीको लामो वक्तव्यले हिन्डेनबर्गले उठाएका सबालमाथि केन्द्रित भएर ३० पृष्ठमा मात्र जवाफ दिएको छ र धेरै प्रश्न अनुत्तरित छन् । वक्तव्यमा कम्पनीले आफ्नो बढाईचढाई मात्र गरेको छ ।’ अडानी समूहको मुख्य कम्पनी अडानी इन्टरप्राइजेजको मुम्बई शेयर बजारमा १.५ प्रतिशतले मात्र वृद्धि भएको थियो । अडानी टोटल ग्यास, अदानी ट्रान्समिसन र अडानी ग्रीन इनर्जीको कारोबार फेरि रोकिएको छ । शुक्रबार पनि यी कम्पनीको कारोबार यस्तै भएको थियो । अडानी पावर र अडानी विल्मारको पनि पाँच–पाँच प्रतिशतले शेयर मूल्य घटेपछि सर्किट ब्रेक गर्नु परेको छ । अडानी पोर्ट कम्पनीको कारोबारमा एक समय धनात्मक देखिए पनि १.५ प्रतिशतले घटेको छ । रासस

एलआईसी नेपालले ८८ प्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८८४५१६८को अनुपातमा दुई अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । उक्त सेयर निष्काशन तथा बिक्रीका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । प्रस्तावित हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने छ । जुन नेपाल बीमा प्राधिकरण तोकेको न्यूनतम चुक्ता पुँजी हो । उक्त बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र एलआईसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले हस्ताक्षर गरेका छन् । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।