रेमिट्यान्स कम्पनीहरुले पनि आइपीओ जारी गर्ने

काठमाडौं । रेमिट्यान्स कम्पनीहरुले पनि आइपीओ जारी गर्न सक्ने भएका छन् ।  नेपाल राष्ट्र बैंकले जारी गरेको विप्रेषण विनियमावली २०७९ अनुसार रमिट्यान्स कम्पनीहरुले पनि सर्वसाधरणको लागि सेयर जारी गर्न सक्ने भएका हुन् । इजाजत प्राप्त विप्रेषण कम्पनीहरुले प्रचलित कानून व्यवस्थाहरुको अधिनमा रही पब्लिक लिमिटेड कम्पनीको रुपमा सर्वसाधरणलाई सेयर जारी गर्न सक्ने  विनियमावली २०७९ उल्लेख छ । ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गर्दै राष्ट्र बैंकले  ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गरेको हो ।

सनराइज फोकस्ड इक्विटी फण्डमा आवेदन दिने समय लम्बियो

काठमाडौं । सनराइज क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने समय लम्बिएको छ । सनराइज फोकस्ड इक्विटी फण्डमा अब माघ २४ गतेसम्म आवेदन दिन सकिने भएको छ । क्यापिटलले माघ १० गतेदेखि १ अर्ब २० करोड रुपैयाँ बराबरको सनराइज फोकस्ड इक्विटी फण्ड बिक्री खुला गरेको हो । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फोकस्ड इक्विटी फण्ड एक बन्दमुखि योजना हो । योजनाको अवधि १० वर्षका रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई निष्काशन गरेको हो । जसमध्ये १ करोड ८० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंकलाई सुरक्षित राखिएको छ । बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्री गरेको हो । क्यापिटलको उक्त फण्डमा माघ २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । सनराइज फोकस्ड इक्विटी फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

बिपिडब्लु लघुवित्तले माघ २२ र फागुन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि माघ २२ र सर्वसाधारण लगानीकर्ताका लागि फागुन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । लघुवित्तले लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता निष्काशन गर्ने भएको हो । जसमध्ये ९ हजार ७ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, १ हजार ५ सय कित्ता कर्मचारी, ४ हजार ८५० कित्ता सामूहिक लगानी कोष र ८० हजार ९५० कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, सर्वसाधारणले छिटोमा फागुन २३ गते र ढिलोमा चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।