अर्थमन्त्री डा. महतले सेयर लगानीकर्तासँग लिए सुझाव
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशरण महतले लगानीकर्तासँग भेटेर सेयर बजारबारे सुझाव लिएका छन् । अर्थमन्त्री महतले सोमबार बिहान पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग भेटेर सेयर बजार बारे सझाव लिएका हुन् । लगानीकर्ताको टोलीले अर्थमन्त्री महतलाई सेयर बजार सुधारका लागि छिटो काम गर्न सुझाव दिएका थिए । उनीहरुले चुक्ता सेयर पूँजीको ४० प्रतिशत मात्र सेयर धितोको कर्जा दिन पाउने व्यवस्थालाई हटाएर कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जामा दिन पाउने व्यवस्था गर्न माग गरेका छन् । यस्तै, उनीहरुले मार्जिन ऋणमा १२ करोडको सीमा हटाउने र १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशतमा झार्न पनि माग गरेका छन् । टोलीले सेवालाई अझ प्रतिस्पर्धी बनाउन निजी क्षेत्रबाट अर्को नयाँ स्टक एक्सचेन्जलाई अनुमति प्रदान गर्न आग्रह गरेको छ ।
दोल्ती पावरले चैत २८ गतेदेखि आईपीओ बेच्दै, कति कित्ता आवेदन दिने ?
काठमाडौं । दोल्ती पावर कम्पनीले चैत २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ७२ हजार ९७२ कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १ लाख ७ हजार २९८ कित्ता वैदेशिक रोजगारीमा रहेको नेपाली र ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ । बाँकी १२ लाख ७१ हजार ८६१ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् कम्पीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयरमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
नेप्सेमा किसान लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न एक लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । लघुवित्तको ७ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६१२.१५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार लघुवित्तको सेयर प्रतिकित्ता ६५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।