सेयरमा लगाइएको १२ करोडको सीमा हट्नु पर्छ : वरिष्ठ उपाध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले सेयरमा लगाइएको १२ करोडको सीमा हटाउनु पर्ने माग गरेका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै उनले सेयर बजारमा गरिएको कडाइ खुकुलो बनाएर चलायमान गर्नु पर्ने माग गरेका हुन् । उनले अर्थतन्त्र प्रतिस्पर्धी बनाउनका लागि विस्तारकारी मौद्रिक नीति आवश्यक रहेको बताए । साथै बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउँदै लैजानु पर्ने उनको भनाइ छ । ‘विस्तारकारी मौद्रिक नीति आवश्यक छ, अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउनू पर्छ, न्यून ब्याजदर कायम गर्नु पर्छ, निक्षेपको ब्याज घटाउँदै लैजानु पर्छ,’ उनले भने । साथै, बैंकदर पनि कम गर्नु पर्ने उनको भनाइ छ । वैदेशीक रोजगारमा रहेका नेपालीहरुलाई थप सहुलियत दिनु प्रदान गर्नु पर्ने उनले बताए । उनले नगद ओसारपसारमा प्रहरीको हस्तक्षेप रोक्नु पर्ने माग राखे ।

अप्पर लोहोरे खोला हाइड्रोले असार ७ गतेदेखि आईपीओ बिक्री गर्दै

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले असार ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ९ लाख ८० हजार ४ सय रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ । जसमध्ये ५० प्रतिशत अर्थात् २ लाख ५४ हजार ९०२ कित्ता अति प्रभावित क्षेत्र नौमुले गाँपालिका ३ र ५० प्रतिशत सेयर २ लाख ५४ हजार ९०२ कित्ता दैलेख जिल्ला बासीहरुलाई बिक्री गर्नेछ । साथै। सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ९८ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको १ लाख ९८ हजार ८२४ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा २१ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीयले सो समयमा पूर्ण आवेदन नदिएमा साउन ५ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

घोराही सिमेन्टको आईपीओ प्रिमियम मूल्यमा बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले आज जेठ ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारणलाई आईपीओ बिक्री गरेको हो । कम्पनीले आयोजना प्रभािवत क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा असार १४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सम्पूर्ण सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।