सामान्य अङ्कले घट्यो नेप्से, ४ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ७६ वटा कम्पनीका एक करोड २९ लाख ७५ हजार एक सय ६८ कित्ता शेयर ६९ हजार एक सय ६८ पटक खरिदबिक्री हुँदा चार अर्ब ७४ करोड छ लाख आठ हजार आठ सय ८० रुपैयाँ बराबरको कारोबार भएको छ । आज विकास बैंक, वित्त, लगानी, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । विकास बैंक एक सय ३१ दशमलव ३७, वित्त समूह ८९ दशमलव ९०, लगानी समूह दुई दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव ४६ र अन्य समूह ३३ दशमलव १३ अङ्कले बढेको छ । निर्जीवन बीमा समूह दुई सय ७७ दशमलव २५ र जीवन बीमा समूह एक सय ९३ दशमलव ८० अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ आठ दशमलव ३२, होटल तथा पर्यटन ८१ दशमलव ८६, जलविद्युत् १९ दशमलव ८०, उत्पादन तथा प्रशोधन ५२ दशमलव ५४, लघुवित्त २९ दशमलव १३ र व्यापार समूह १२ दशमलव ०८ अङ्कले घटेको छ । आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, लक्ष्मी इक्विटी फन्ड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, बिपिडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियम हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २९ करोड ८२ लाख १३ हजार पाँच सय ७४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर ११ लाख ३५ हजार सात सय ९८ कित्ता किनबेच भएको छ ।

समता घरेलु लघुवित्त एफपीओ निष्कासन तयारीमा, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ। संस्थाले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्दै एफपीओ निष्कासन गर्ने जानकारी दिएको हो । समता र मुक्तिनाथबीच सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा घरेलु समता लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरे र मुक्तिनाथ क्यापिटलका तर्फबाट कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन् । कम्पनीले वित्तीय संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पुँजी संरचना संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेगरी नपुग ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँ  बराबरको ३ लाख ३२ हजार ८५६ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो । हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले सर्वसाधरणमा उक्त एफपीओ बिक्री गर्ने तयारी गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ३९ करोड ४१ लाख छ । नेप्सेमा ३९ लाख ४१ हजार ५५८ कित्ता सेयर सूचीकृत छ ।

घोराही सिमेन्टको आईपीओ निष्काशन स्थगित गर्न सेबोनको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओ निष्काशन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । कम्पनीको रेटिङ्ग र मागभन्दा बढी आवेदन पर्दा पनि समय थप गरेको विषयमा बोर्डले निष्काशन प्रक्रिया रोकेको हो । बोर्डले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङलाई पत्र पठाउँदै सार्वजनिक निष्काशन कार्य तत्काल स्थगन गर्न निर्देशन दिएको हो । बोर्डले केयर रेटिङ्ग नेपाललाई कम्पनीको रेटिङ्ग नियम विपरित भए÷नभएको बारेमा ३ दिन भित्र स्पष्टीकरण पेश गर्न गत जेठ ३० गते पत्राचार गरेको थियो । केयर रेटिङ्ग नेपालले स्पष्टीकरण नपठाई बिना आधार समय थप माग गरेको थियो । साथै, आईपीओमा मागभन्दा बढी आवेदन परेपनि निष्काशन समय थप गरिएको भन्दै तत्तकाल स्थगन गर्न बोर्डले निर्देशन दिएको हो । ‘कम्पनीको इस्युअर रेटिङ्ग, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए÷नभएको बारेमा केयर रेटिङ्ग नेपाललाई ३ दिन भित्र स्पष्ट गरी पेश गर्न जेठ ३० मा पत्राचार गरिएकोमा हालसम्म जानकारी पेश नगरी उपयुक्त आधार बिना म्याद थपको लागी अनुरोध गरेको र आईपीओमा माग भन्दा बढी कित्ता सेयरको लागि आवेदन प्राप्त हुँदा पनि समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएकाले लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई आईपीओ निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय भएको छ,’ बोर्डको पत्रमा भनिएको छ ।