चिलिमे ईन्जिनियरिङले प्रिमियममा आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि २ लाख ९७ हजार ५०० कित्ता साधारण सेयर प्रिमियममा सार्वजनिक निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशनको लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । असार ६ गते भएको उक्त सम्झौतापत्रमा चिलिमे ईन्जिनियरिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रजेश बिक्रम थापा र सिद्धार्थ क्यापिटलको तर्फबाट सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।
सेयर बजारमा छायो हरियाली, परिसूचक ६२ अंकले बढ्दा साढे ६ अर्बको कारोबार
काठमाडौं । आइतबार सेयर मूल्य मापक नेप्से परिसूचक ६२.२१ अंकले बढेको छ । कारोबार खुलेदेखि उकालो लागेको परिसूचक बजार बन्द हुँदा ३.०३ प्रतिशतले बढेर २११७.७३ बिन्दुमा पुगेको हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । दिनभरको कारोबारमा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन गत बिहीबारको तुलनामा ३ अर्ब ५ करोडले बढी हो । गत बिहीबारको बजारमा ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार बढी कारोबार गर्नेको अग्रस्थानमा शिवम् सिमेन्ट रहेको छ । शिवम्को ४९ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, दोश्रो स्थानमा सोल्टी होटेल रहेको छ । जसको ३८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर एकैदिन कारोबार भएको छ । उच्च अंकले बढेको बजारमा ९ कम्पनीको सेयर मूल्य ९.५ प्रतिशतभन्दा बढीले बढेको छ । जसमा ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, हिमालयन लाइफ, एनएमबी ५० र सामलिङ पावर कम्पनी रहेका छन् । त्यस्तै, बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत, सिटी होटलको ९.९९ प्रतिशत, शिवम् सिमेन्टको ९.९८ प्रतिशत, हिमालय उर्जा विकास कम्पनीको ९.७७ प्रतिशत र नेपाल इन्स्योरेन्स कम्पनीको ९.७४ प्रतिशतले सेयर मूल्य बढेको छ । मर्जर प्रकृयामा रहेको प्रभु लाइफ इन्स्योरेन्सको पनि ९.४८ प्रतिशतले सेयर मूल्य बढेको छ । बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् ।
लाभांश पारित गर्न नागरिक लगानी कोषले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । नागरिक लगानी कोषले आफ्नो २८ औं बार्षिक साधारण सभा बोलाएको छ । कोषको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले असार ३१ गते अपरान्ह ३ बजे केन्द्रिय कार्यालय बानेश्वरमा बोलाएको हो । कोषको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोगजनको लागि १.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कोषको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने छ । यस्तै, कोषको सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाबाट एक जना सञ्चालक पदको निर्वाचन गर्ने र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरु तथा सञ्चालकहरुको तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गर्नेछ । साधारण सभा प्रयोजनको लागि असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असार १८ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।