नेशनल माइक्रोफाइनान्सका सेयरधनीले अब १५ प्रतिशत मात्र लाभांश पाउने
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको सेयरधनीले अब १५ प्रतिशत मात्र लाभांश पाउने भएका छन् । संस्थाको आइतबार बसेको संचालक समितिको बैठकले गत वर्षको मुनाफाबाट १५ प्रतिशत मात्र बोनस सेयर बाँड्ने निर्णय गरेको हो । यसअघि लघुवित्तले सेयरधनीलाई ३२.४५ प्रतिशत लाभाशं बाँड्ने निर्णय गरेको थियो । तर राष्ट्र बैंकले लाभांश घटाउन निर्देशन दिएपछि लघुवित्तले लाभांश घटाएको हो । राष्ट्र बैंकले पछिल्लो समय धेरै लघुवित्तहरुको लाभांश घटाउँदै पठाइरहेको छ ।
ग्लोबल आइएमईले जम्मा गर्यो सेयरधनीको खातामा लाभांश
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । लघुवित्तले सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा लाभांश जम्मा गरेको जनाएको छ । लघुवित्तको फागुन २४ गते सम्पन्न १०औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश फागुन २८ गतेदेखि आईपीएस मार्फत सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई तत्काल गर्न लघुवित्तले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । नगद लाभांश बैंक खातामा नगएका सेयरधनीहरुको विवरण सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलको वेभसाइटमा हेर्न सकिनेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।
सिटि होटलले चैत २१ गते र बैशाख २५ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । सिटि होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारण लगानीकर्ता लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई चैत २१ गतेदेखि र सर्वसाधारणलाई २०८० वैशाख २५ गते आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख ७४ हजार कित्ता सेयर गर्ने भएको हो । जसमध्ये १ लाख ६७ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई, ८३ हजार ७ सय कित्तासामूहिक लगानी कोषलाई, ६६ हजार ९६० कित्ता कर्मचारीलाई र बाँकी १३ लाख ५५ हजार ९४० कित्ता सर्वसाधारण लगानीकर्तालाई छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले २०८० बैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताले भने २०८० बैशाख २८ गतेसम्म आवेदन दिन पाउनेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा २०८० जेठ ८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयरबाट कम्पनीको सेयर खरिद गर्न सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।