बीमा एजेन्ट र सर्भेयरले तीन वर्षसम्म लाइसेन्स नवीकरण गर्नु नपर्ने

काठमाडौं । बीमा अभिकर्ता (एजेन्ट) र सर्भेयरले तीन वर्षसम्म लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले नयाँ लाइसेन्स लिएका बीमा एजेन्ट र सर्भेयरले तीन वर्षसम्म नवीकरण गर्नु नपर्ने बताएको हो । बीमा ऐन, २०७९ लागू भएसँगै प्राधिकरणले उक्त व्यवस्था लागू गरेको हो । प्राधिकरणका अनुसार गत कार्त्तिक २२ गते पछि जारी भएका लाइसेन्सहरु जारी भएको मितिले तीन वर्षसम्म नवीकरण गर्नु पर्दैन । नयाँ लाइसेन्सहरुको अवधि तीन वर्षसम्म हुने भएकोले अब वार्षिक रुपमा नवीकरण गर्न नपर्ने भएको हो । हाल प्राधिकरणले एजेन्ट तथा अभिकर्तालाई सहज बनाउन गत चैत ६ गतेदेखि अनलाइन माध्यमबाट नवीकरण गर्ने व्यवस्था मिलाएको हो ।

आईपीओकै मूल्यमा राम्रा सेयर, यी हुन् २०० भन्दा कममा पाइने ८ बैंक

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएका अन्य कम्पनीहरुको तुलनामा ‘क’ वर्गका वाणिज्य बैंकहरुको सेयर मूल्य निकै कमजोर देखिएको छ । अधिकांश बैंकहरुको सेयर मूल्य साधारण सेयर (आईपीओ) कै मूल्यमा कारोबार भइरहेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक कुनै बेला ३२ सयमाथि थियो । बैंकहरुले उच्च लाभांश दिएर लगानीकर्तालाई आकर्षित गरिरहेका थिए भने बैंकहरुको सेयर मूल्य न्यूनतम ५ सयभन्दा बढी र अधिकतम १५ सय माथि थियो । बजारमा बैंकको सेयर ‘हटकेक’का रुपमा लिइन्थ्यो । अहिले बजार साढे १८ सयको हाराहारीमा हुँदा केही वाणिज्य बैंकहरुको सेयर मूल्य आईपीओ मूल्य बराबर नै खरिदबिक्री भइरहेको छ । सेयर बजार घट्दो क्रममा हुँदा सेयर खरिद गर्न उचित समय भएको जानकारहरु बताउँछन् ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २० वाणिज्य बैंकहरु सूचीकृत छन् । जसमा एनआईसी एसिया बैंकको सेयर मूल्य सबैभन्दा बढी छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९७ रुपैयाँ रहेको छ । यस्तै, सबैभन्दा कम सेयर मूल्य कुमारी बैंकको छ । यस बैंकको प्रतिकित्ता सेयर मूल्य १६९.१० रुपैयाँ छ । विभिन्न ८ वटा वाणिज्य बैंकको सेयर मूल्य २ सय रुपैयाँभन्दा कम छ । कम्पनीले प्राथमिक सेयर जारी गर्दा नै प्रतिकित्ता १०० रुपैयाँमा बिक्री गर्छन् । घट्दो बजारमा केही कम्पनीको सेयर मूल्य भने आईपीओ जारी गर्दाको मूल्यमा झरेको छ । २०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका ८ वाणिज्य बैंकहरु क्रमशस् प्राइम कमर्शियल, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, लक्ष्मी, सनराइज, सिटिजन्स, प्रभु र कुमारी बैंक छन् । दोस्रो बजारमा प्राइम कमर्शियल बैंकको सेयर मूल्य १९३.९० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता ३१३ रुपैयाँ र न्युनतम १९० रुपैयाँ रहेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर मूल्य १८२.८० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता २३२.२० रुपैयाँ र न्युनतम १७९.२० रुपैयाँ रहेको थियो । ग्लोबल आइएमई बैंकको सेयर मूल्य १८२ रुपैयाँ, लक्ष्मी बैंकको १७७.५० रुपैयाँ, सनराइज बैंकको १७७ रुपैयाँ, सिटिजन्स बैंकको १७३ रुपैयाँ छ भने  प्रभु बैंकको सेयर मूल्य १७० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ र न्युनतम १६७ रुपैयाँ रहेको थियो । यस्तै, कुमारी बैंकको सेयर मूल्य १६९.१० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता २३० रुपैयाँ र न्युनतम १६६.१० रुपैयाँ रहेको थियो ।

सिटिजन्स क्यापिटलले बैशाख ६ गतेदेखि सिटिजन्स सुपर ३० फण्ड बिक्री गर्ने

काठमाडौं । सिटिजन्स क्यापिटलले बैशाख ६ गतेदेखि बन्दमुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० फण्ड निष्काशन गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाईमध्ये १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंकलाई राखिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले खरिद गर्न सक्नेछन् । क्यापिटलको फण्डमा छिटोमा बैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा बैशाख २० गतेसम्म म्याद थप हुनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिद गर्न सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।