सेयर बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आयो : सेयर लगानीकर्ता
काठमाडौं । राष्ट्र बैंकले सेयर बजारलाई इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको सेयर लगानीकर्ताहरुले बताएका छन् । सेयर लगानीकर्ताहरुले राष्ट्र बैंकले विगत दुई वर्षदेखि सेयर बजारप्रति नकारात्मक बनेर मौद्रिक नीति ल्याउनु पुँजीबजारको विकासको लागि राम्रो नभएको बताए । उनीहरुले नेपाली पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण गर्नु पर्नेमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको आरोप लगाए । लगानीकर्ताहरुले राष्ट्र बैंकले लगानीकर्ताहरुलाई कन्फ्युज बनाउने भन्दा पनि स्पष्ट नीति लिएर पुँजीबजारको विकासमा जोड दिएर नीति बनाउनु पर्नेमा उल्टो भइरहेको बताए । उनीहरुले राष्ट्र बैंकले सेयर लगानीकर्ताहरुको दुई वर्ष देखिका साना मागलाई समेत सम्बोधन नगर्नु सेयर बजारप्रति नकारात्मक दृष्टिकोण रहेको स्पष्ट भएको बताए । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको बताइन् । उनले मौद्रिक नीतिमा एकथरी भाषा प्रयोग गरिएको र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा फरक कुरा सार्वजनिक गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गर्नु गलत भएको बताइन् । मौद्रिक नीतिको पूर्णपाठ हेर्दा केही भए पनि सेयर बजारलाई राहत दिने खालको मौद्रिक नीति आएको महशुस भएको भए पनि दुई घण्टाको बीचमा बिरोध गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘विगत दुई वर्षदेखि निरन्तर रुपमा गिरावट रहेको सेयर बजार विगतमा नीतिहरु परिवर्तन भएर मलम पट्टिको काम गर्छ भन्ने लगानीकर्ताहरुको अपेक्षा थियो । लगानीकर्ताहरुको त्यो अपेक्षा मौद्रिक नीतिबाट पूरा भएन’, उनले भनिन्, ‘ लगानीकर्ताहरुलाई भ्रममा पारेर मौद्रिक नीति ल्याइयो त्यसले लगानीकर्ताहरु थप प्यानिक भएका छौं । मौद्रिक नीतिले आम लगानीकर्ताको माग सम्बोधन भएको छैन । सेयर बजार घटबढ राजनीतिक विषय,बजारमा तरलता र ब्याजदरको कारण हुन्छ । मुलुकको अर्थतन्त्र नै संकटमा रहेको अवस्थामा सेयर बजार राम्रो हुन्छ भन्ने अपेक्षा थिएन । तर दुई वर्ष देखिको मौद्रिक नीतिकै कारण बजार प्यानिक भइरहेको छ ।’ सबै साइजका कर्जाको जोखिमभार नघट्ने गभर्नरको अभिव्यक्तिले लगानीकर्ताहरुलाई दुखि बनाएको उनले बताइन् । सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भन्ने उल्लेख गरेकाले सकारात्मक प्रतिक्रिया दिएको उनले बताइन् । पोखरेलले लगानीकर्ताहरुको कुनै पनि माग सम्बोधन नहुनु पुँजीबजारप्रति राष्ट्र बैंक नकारात्मक रहेको स्पष्ट हुने बताइन् । त्यस्तै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति लगानीकर्ताहरुले सोचे जस्तो नआएको बताए । उनले दुई वर्षअघि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिकै कारणले पुँजीबजार धरासायी बनाएको बताए । सेयर कर्जा संकुचन गर्न ४/१२ को नीति र भारित औसतलाई १०० बाट १५० बनाउँदा धरासायी बनेको पुँजीबजार यो मौद्रिक नीतिले पनि सम्बोधन गर्न नसकेको उनले बताए । मौद्रिक नीतिको कारणले ३२ सय नजिकको इन्डेक्स १८ सयमा पुगेको उनको भनाइ छ । लगानीकर्ताहरुले विगतमा पाएको सुविधा १२ करोड सीमा खारेज र भारित औसत १०० मा ल्याउन माग गर्दा समेत सम्बोधन नभएको गुनासो गरे । लगानीकर्ताको माग सम्बोधन हुन नसके पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण हुन नसक्ने उनको भनाइ छ । मौद्रिक नीतिको लागि राष्ट्र बैंकले सुझाव माग्ने तर सुझाव कार्यान्यवन अहिलेसम्म नभएको उनको आरोप थियो । भारित औसतलाई पुनारावलोकन गरिनेछ भन्ने समाचार आउँदा लगानीकर्ताको माग सम्बोधन भयो भनेर सबैले मौद्रिक नीतिको स्वागत गरिए पनि दुई घण्टामा पत्रकार सम्मेलनमा गभर्नरले भारित औषत ५० लाखसम्मलाई मात्रै हो भन्ने अभिव्यक्तिले आम लगानीकर्तालाई कुठराघात गरेको बताए । मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन नगरे पनि आगामी दिनमा नेपाली पुँजीबजारको भविष्य सुनौलो रहेको दाबी गरे । ‘मौद्रिक नीति हामीले सोचे जस्तो आएन’ उनले भने, ‘भारित औसतलाई पुनारावलोकन गरिनेछ भन्ने समाचार आउँदा सेयर बजार बढ्यो । लगानीकर्ताको माग सम्बोधन भयो भनेर सबैले मौद्रिक नीतिको स्वागत गरियो । तर पत्रकार सम्मेलनमा गभर्नरले भारित औषत ५० लाखसम्मलाई मात्रै हो भन्ने अभिव्यक्तिले आम लगानीकर्तालाई कुठराघात गरेको छ ।’ सेयर विश्लेषक नवराज घिमिरेले नेपाल राष्ट्र बैंकमा महाप्रसाद अधिकारी गभर्नर हुँदासम्म पुँजीबजार मैत्री मौद्रिक नीति आउन नसक्ने दाबी गरे । गभर्नर अधिकारी कहिल्यै पुँजीबजारप्रति सकारात्मक नभएकाले पुँजीबजारमैत्री नीतिहरु आउन नसकेको उनको आरोप थियो । गभर्नरको कार्यकाल सकिएपछि मात्रै नेपाली पुँजीबजारले छलाङ मार्ने उनको दाबी थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारलाई नियन्त्रण गर्न खोजे पनि मौद्रिक नीतिको असर केही दिन रहे पनि पुँजीबजार अब कसैले रोकेर नरोकिने उनले बताए ।
३६ अंकले घट्यो सेयर बजार
काठमाडौं । मगलबारकाे काराेबारमा सेयर बजार ३६ अंकले आरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१ सय ६४ दशमलव ३१ अंकमा सीमित भएको छ । सेन्सेटिभ इण्डेक्स ७.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंक घटेको छ । नेप्सेसँगै मंगलबार कारोबार रकम पनि घटेको हो । अघिल्लो कारोबार दिन साढे ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार २६७ स्टकको ५३ हजार ५७० पटकको कारोबारमा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । पछिल्ला कारोबार दिनहरुमा सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको किसान लघुवित्तको शेयर, यस दिन पनि सकारात्मक सर्किट लेभलमा नै कारोबार भएको छ । त्यसैगरी, सिटि होटलको शेयरमूल्य ७.७४ प्रतिशत बढेको छ । यस दिन नबिल बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ६.८७ प्रतिशत घटेको छ भने बिपिडब्लु लघुवित्तको शेयरमूल्य र सानिमा बैंकको ऋणपत्रको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्को १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
ओटिसी बजारमा ८४ कम्पनीका २ करोडभन्दा बढी कित्ता सेयर किनबेच, पौने ३ अर्बको कारोबार
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको २ करोड १२ लाख ६४ कित्ता सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका कम्पनीको सङ्ख्या २ सय ६ वटा छ । दर्ता भएका कम्पनीमध्ये गत आर्थिक वर्ष ८४ वटा कम्पनीको सेयर २ अर्ब ८५ करोड ८४ लाख १९ हजार ८ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको हो । ओटिसी बजारमा भएको कारोबारबाट गतवर्ष ५ करोड २९ लाख ५५ हजार ९ सय ८० रुपेयाँ बराबरको पुँजीगत लाभकर प्राप्त भएको पनि नेप्सेले जनाएको छ । ओटिसी बजारमा काठमाडौँ फरेस्ट्री कलेजको सबैभन्दा धेरै प्रतिकित्ता १ हजार एक सय २५ मा दुई हजार दुई सय २२ कित्ता सेयर खरिदबिक्री भएको छ । ओटिसी बजारमा सेयर कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सयका दरले किनबेच भएको देखिन्छ । नेपाल स्टक एक्सचेञ्जले ओटिसी बजारको अवधारणा विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको थियो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण नभएका, सूचीकरण खारेज भएका तथा सूचीकरणका लागि आवश्यक शर्त पूरा हुन नसेका पब्लिक कम्पनीको सेयर कारोबार तथा नामसारी नेप्सेले ओटिसी बजारमार्फत् गर्दै आएको छ । रासस