टिम भेन्चर्सले हिमालयन क्यापिटललाई बिक्री गर्‍यो फुडमाण्डुको आशिंक सेयर

काठमाडौं ।  टिम भेन्चर्सले हिमालय क्यापिटललाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आशिंक सेयर बिक्री गरेको छ । यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटलले संयुक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । टिम भेन्चर्स ऊर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृषि पूर्वाधार र विद्युतीय सवारी जस्ता नाफामूलक क्षेत्रहरूमा विविधीकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनी हो । फुडमाण्डुमा टिम भेन्चर्सले सन् २०२० मा सिरिज बि अन्तर्गतको संस्थागत लगानी गरेको थियो । टिम भेन्चर्सको यस रणनीतिक लगानीले फुडमाण्डुलाई ग्राहक र रेस्टुरेण्टसहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको बताइएको छ । झण्डै दुई वर्षको अवधिमै टिम भेन्चर्सले आफ्नो आशिंक लगानी दुई गुणाको प्रतिफलसहित बिक्री गर्न सफल भएको छ । सन् २०१० मा स्थापना भएको फुडमाण्डु नेपालको अनलाइन फुड डेलिभरी (रेस्टुरेण्टमा आधारित खाद्य तथा खानाजन्य वस्तु बिक्री/वितरण गर्ने) कम्पनीको रूपमा कार्य गर्दै आएको छ। हिमालयन क्यापिटल हिमालयन बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा स्थापित मर्चेन्ट बैंक हो । हिमालयन क्यापिटलले वित्तीय व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवा जस्ता विशिष्टीकृत वित्तिय तथा लगानी सेवाहरू प्रदान गर्दै आएको छ ।

आइपीओ निष्काशन गर्दै होटेल क्राउन इम्पेरियल, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं ।  होटेल क्राउन इम्पेरियलले आइपीओ निष्काशन गर्ने भएको छ । अर्किड होल्डिङ्ग्सले संचालन गरेको होटेल क्राउन इम्पेरियलले साधारण सेयर निष्काशन गर्ने भएको हाे । कम्पनीले आइपीओको  बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।  होटेल क्राउन इम्पेरियलको सय रुपैयाँ अंकित दरका १ अर्ब १५ करोड रुपैयाँ रकम बराबरको १ करोड १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा बिक्री गर्न बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्सले संचालन गरेको होटेल क्राउन इम्पेरियलको तर्फबाट प्रबन्ध संचालक सुधिर मान मास्केले हस्ताक्षर गरेका छन् । कम्पनीले २०७६ असार १३ बाट रविभवन, काठमाडौँमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ । १३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।

अपर तामाकोशीको हकप्रद खरिद गर्न कहिलेसम्म सेयरधनी बन्नु पर्छ ?

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । अब साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरुले मात्रै कम्पनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजीका् १ः१ को अनुपात अर्थात् १ कित्ता सेयर बराबर १ कित्ता सेयर हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।