सेयर बजारमा छिरे ठूला लगानीकर्ता

काठमाडौं । पछिल्लो केही सातायता सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको छ । विगत केही वर्षदेखि घटेर लगानीकर्ताको मनोबल घटेको सेयर बजारमा पछिल्लो केही सातायता भने सेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढेको हो । गत मंसिर २४ गते सेयर बजार ६ प्रतिशत अर्थात् १११.२० अंक बढ्यो । सो दिन कारोबार भने ४८ करोडरुपैयाँको मात्रै भयो । त्यसको भोलिपल्ट अर्थात् मंसिर २५ गते ०.७८ प्रतिशत अर्थात् १५.४० अंकले बजार घट्यो । तर, कारोबार ४ अर्ब ८४ करोड रुपैयाँबराबरको भयो । त्यसपछिका दिनहरूमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क हेर्ने हो भने प्रत्येक दिन बजार बढेको छ, कारोबार रकम पनि दैनिक बढ्दो छ । नेप्सेको तथ्यांक हेर्दा कारोबार भएको पछिल्लो ८ दिनको अवधिमा ४५ अर्ब बढीको कारोबार भएको देखिन्छ । नेप्से परिसूचक डेढ सय बिन्दुले वृद्धि हुँदा लगानीकर्ताहरूको सम्पत्ति साढे ४ खर्ब रुपैयाँ बढेको छ । विगतमा १ अर्बको कारोबार हुन धौंधौं पर्ने नेप्सेमा पछिल्ला दिनहरूमा भने दैनिक ३ अर्ब बढीको कारोबार भएको देखिन्छ । उक्त कारोबार बढेर बुधबार ७ अर्ब पुगेको छ । बिहीबार भने नेप्से करेक्सन भएको जानकारहरू बताउँछन् । बिहीबार ६अर्ब २७ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएपनि नेप्से परिसूचक भने ३२.७७ अंकले घट्यो । विगतका दिनहरूमा भइरहेको कारोबारको तुलना गर्दा पुँजी बजारमा ठूला लगानीकर्ताहरूको प्रवेशले कारोबारको आकार बढेको सेयर बजार जानकारहरू बताउँछन् । बजारले बुलको लय समातेपछि ठूला भनिएका लगानीकर्ताहरू पनि सलवलाउन थालेको उनीहरूको भनाइ छ । ब्रोकर व्यवसायी अतितलाल श्रेष्ठ टर्नओभरलाई हेर्ने हो भने सेयर बजारमा ठूला लगानीकर्ताहरूको प्रवेश भएको संकेत देखिएको बताउँछन् । क्यास होल्ड र ऋण लिएर बसेका ठूला लगानीकर्ताहरूको बजारमा प्रवेश भइरहेको उनको भनाइ छ । ‘पुँजी बजारमा माहोल राम्रो छ, बजार अझै बढ्ने देखिन्छ, बजारले सबै सप्लाइलाई खाइदिएको छ, टर्नओभरले बजारमा धेरै उत्साह छाएको छ, ६ अर्बको दैनिक टर्न ओभर हुँदा राम्रो नै हुन्छ, यो टर्नओभर हेर्दा बजारमा ठूला लगानीकर्ताहरूको प्रवेश भएको संकेत गर्छ,’ उनले भने, ‘क्यास होल्ड गरेका र ऋण लिएर लगानी गर्ने लगानीकर्ताहरू बजारमा प्रवेश गर्नु भएको हो ।’ ‘ठूला लगानीकर्ताहरू विस्तारै बजारमा प्रवेश गर्दै हुनुहुन्छ, बजारले लय समातेको हुँदा ठूला लगानीकर्ता उत्साहित भएर आउँछन्,’ उनले भने, ‘बैंकको ब्याजदर निरन्तर घटिरहेकाले अब बजार बढ्नुको विकल्प छैन ।’ उनका अनुसार अब लगानीकर्ता बाहिरिने भन्दा पनि आउनु पर्ने हो । ब्रोकर व्यवसायी भरत रानाभाट बजार चलायमान हुँदै गर्दा पुँजी बजारभन्दा बाहिरी क्षेत्र गएका लगानीकर्ताहरू फर्किन थालेको बताउँछन् । उनका अनुसार बजारमा ठूला लगानीकर्ता प्रवेश नगरी यति धेरै कारोबार हुने थिएन । साथै, बजार बढ्दै जाँदा कारोबार बढ्दै जाने र लगानीकर्ता पनि बढ्दै जाने उनको भनाइ छ । ‘बजारमा लगानीकर्ता प्रवेश नगरी यति धेरै कारोबार हुने थिएन, बजार बढ्दै जाने, कारोबार बढ्दै जाने र लगानीकर्ता पनि बढ्दै जान्छन्, भोलुम हेर्दा बजारमा लगानीकर्ता बढेको देखिन्छन्,’ उनले भने, ‘ठूला लगानीकर्ताहरू बजार छोडेर कतै गएका थिएनन्, अब सलबलाउन थालेका हुन्, चलायमान हुँदै गर्दा अन्य क्षेत्रतिर गएका लगानीकर्ता पनि फर्किन थालेका हुन् ।’ उनका अनुसार कतिपय व्यक्तिहरू आफैंमा ठूला लगानीकर्ता हुन् । साथै, म्युचुअल फण्ड, बीमा कम्पनी, इन्भेष्टमेन्ट कम्पनी ठूला लगानीकर्ता हुन् । ब्याजदर घटेसँगै अर्थतन्त्र पनि चलायमान हुने र सुधार हुने उनको अपेक्षा छ । ‘कोही कोही व्यक्ति त संस्थाभन्दा ठूला लगानीकर्ता छन्, बैंकको ब्याजदर घटिसकेको छ, तरलता प्रयाप्त छ, रेमिट्यान्स फ्लो बढिरहेको छ,’ उनले भने । ब्रोकर व्यवसायी अनन्त कुमार पौडेल बजारमा लगानीकर्ताको मनोबल बढेकाले बजार सकारात्मक बाटोमा गइरहेको बताउँछन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा केही लचिलोपना अपनाएदेखि बजार निरन्तर बढिरहेको उनको भनाइ छ । ‘बजारमा तरलता प्रशस्त छ, ब्याजदर घट्दोक्रममा छ । र, तरलता सहज भएपछि अहिले तल्लो बिन्दुबाट बजार माथि उठेको हो, मौद्रिक नीतिको त्रैमासिक समीक्षाले पनि बजारलाई सकारात्मक बाटोमा जान सपोर्ट गर्याे, सेन्टिमेन्ट पोजेटिभ बनायो,’ उनले भने, ‘लगानीकर्ताहरू उत्साहित भएर कारोबार गरिरहेका छन्, ठूला लगानीकर्ता नआएर यति ठूलो भोलुम हुन सक्दैन ।’ तर, कुनै कुनै कम्पनीबाट संस्थापक पनि एक्जिट भएर कारोबार बढेको हुन सक्ने उनको भनाइ छ । ठूला लगानीकर्ताहरू कन्भर्ट भएको सेयर बिक्री गरेर बाहिरिन खोजेका पनि हुन सक्छन् । उनका अनुसार अहिले बाहिरिने भन्दा पनि प्रवेश गर्नेको संख्या बढेको देखिन्छ । ‘ठूला लगानीकर्ताहरू कन्भर्ट भएको सेयर बिक्री गरेर बाहिरिन खोजेका पनि हुन सक्छन्, जुन कम्पनीको लकिङ अवधि सकिएको छ, ती कम्पनीको सेयर बिक्री गरिरहेका छन्, जस्तो एनआरएन, शिवम् सिमेन्ट, माउन्टेन हाइड्रोको लकिङ अवधि सकियो, कारोबारको भोलुम हेर्दा त्यहाँ भएका प्रमोटरले पनि सेयर बिक्री गरेको देखिन्छ,’ उनले भने, ‘नेप्से सूचक ३२ सय अंकबाट १८ सय बिन्दुमा झर्दा लगानीकर्ताको मनोबल गिरेको थियो, टिकिरहेका लगानीकर्ता फेरी बजार बढ्ने भयो भनेर उनीहरू जुर्मुराएका हुन् ।’ बजारमा पहिला फसेका लगानीकर्ताहरू बढ्न थालेपछि पुनः प्रवेश गरेका हुन सक्ने उनको भनाइ छ ।

लगातार ७ दिन बढेको बजारमा ३२ अंकको करेक्सन, कारोबार पनि घट्यो

काठमाडौं । पछिल्लो समय सात दिनसम्म निरन्तर बढेको बजारमा बिहीबार करेक्सन देखिएको छ । सात दिनसम्म १९३.२७ अंकले बढेको बजारमा बिहीबार ३२.७७ अंकको करेक्सन देखिएको हो । कारोबार खुल्नासाथ ओरालोको बाटो तय गरेको परिसूचक कारोबार बन्द हुँदा ३२.७७ अंकले घटेर २१०९.१० बिन्दुमा झरेकोे छ । जुन अघिल्लो दिनको तुलनामा १.५३ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि घटेको छ । बुधबार ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार ६ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३० करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका २४४ कम्पनीमध्ये ५० वटाको सेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको सेयर मूल्य भने स्थीर रहेको छ । घटेको बजारमा पनि १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

पोखरा फाइनान्सका सेयरधनीको हात खाली, छैन लाभांश प्रस्ताव

काठमाडौं । यो वर्ष पोखरा फाइनान्सका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सेयरधनीका हात खाली हुने भएको हो । पुस ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले २०८० असार मसान्तको वासलात, गत आवको नाफा नोक्सान लगायतका वित्तीय विवरण पारित गरेको छ । उक्त विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारण सभाले पारित गर्ने छ । संस्थाले यसअघि आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।