काठमाडौं । पछिल्लो समय सात दिनसम्म निरन्तर बढेको बजारमा बिहीबार करेक्सन देखिएको छ । सात दिनसम्म १९३.२७ अंकले बढेको बजारमा बिहीबार ३२.७७ अंकको करेक्सन देखिएको हो ।
कारोबार खुल्नासाथ ओरालोको बाटो तय गरेको परिसूचक कारोबार बन्द हुँदा ३२.७७ अंकले घटेर २१०९.१० बिन्दुमा झरेकोे छ । जुन अघिल्लो दिनको तुलनामा १.५३ प्रतिशतले घटी हो ।
बजारमा परिसूचकसँगै कारोबार रकममा पनि घटेको छ । बुधबार ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार ६ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३० करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका २४४ कम्पनीमध्ये ५० वटाको सेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको सेयर मूल्य भने स्थीर रहेको छ ।
घटेको बजारमा पनि १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।