स्वाभिमान लघुवित्तले लाभांश नदिने

काठमाडौं । स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।

सर्वोत्तम सिमेन्टको आईपीओमा स्थानीयलाई आवेदन दिने समय थप

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आवेदन दिने समय थप गरिएको छ भने वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आज अन्तिम दिन हो । कम्पनीले पुस २५ गतेदेखि उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्काशन गरेको हो । उक्त आईपीओमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाले अब माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरूले आज माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ६७ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । यस्तै, उद्योग प्रभावित क्षेत्र नवलपरासीको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३, उत्खनन् प्रभावित क्षेत्र पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गरेको हो । कम्पनीले उक्त आइपीओ प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले बिक्री गरेको हो । जसमा लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्ता आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ। यसले कम्पनी समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछ ।

रिलायन्स स्पिनिङ्गको आईपीओ बुक विल्डिङ्गमा बिक्री खुला

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले आज माघ १० गतेदेखि बुक बिल्डिङ्ग विधिमार्फत आईपीओ निष्काशन गरेको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुको लागि बोलकबोल मार्फत बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर बुक बिल्डिङ्ग मार्फत बिक्री गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयरको न्यूनतम मूल्य ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँ तोकिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरू सहभागी गराई बिक्री मूल्यको सीमा भित्र रही बोलकबोल मार्फत सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । योग्य संस्थागत लगानीकर्ताहरुले नेप्सेको कार्यालयमा गई माघ १४ गतेसम्म गोप्य बोलपत्र पेश गर्नु पर्नेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ ।