काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि देशका ठूला व्यावसायिक घरानाहरू लामो समयदेखि लविङमा छन् । गत वर्ष सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन माग गरेपछि ठूला व्यावसायिक घराना नै लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पुगेका थिए ।
लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा तीन स्टक एक्सचेन्ज कम्पनी पुगेका थिए । तर, प्रक्रिया बिचमै रोकिएको थियो । त्यतिबेला हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेञ्जले लाइसेन्सका लागि आवेदन दिएका थिए । यी तीन वटै कम्पनीमा देशका ठूला उद्योगी व्यवसायी आवद्ध छन् । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्राप्त गर्नका लागि आफ्नो शक्ति प्रदर्शन देखाउन सक्ने उद्योगी व्यवसायीहरू यी कम्पनीमा छन् ।
यो बिचमा पनि उनीहरूले ठूलो दौडधूप गरेका छन् । हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगड लगायतको लगानी छ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा देखिएका छन् । उनको १५ प्रतिशत सेयर रहेको बुझिएको छ । यो स्टक एक्सचेञ्जमा इन्फिनिटी होल्डिङसका दीपक भट्ट पनि जोडिएका छन् । यसमा भट्टको पनि १५ प्रतिशत लगानी छ ।
यस्तै, नेशनल स्टक एक्सचेञ्जमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, पूर्व अध्यक्ष कुल आचार्य लगायत एनआरएनएको लगानी छ । यस्तै, यो स्टकमा केडिया ग्रुपका अध्यक्ष मनोज केडिया, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ लगायतको लगानी रहेको पनि बुझिएको छ ।
यस्तै, अन्नपूर्ण स्टक एक्सचेञ्जमा प्रमुख लगानीकर्ता रामेश्वर थापा रहेको बुझिएको छ । उनी अन्नपूर्ण मिडिया हाउसका सञ्चालक हुन् । साथै, यस कम्पनीमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोद्ध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, बलराम उप्रेती लगायतको यस कम्पनीमा लगानी छ ।
अब पुनः तीन समूहबीच नयाँ स्टक एक्सचेन्जका लागि प्रतिस्पर्धा हुनेछ । जुन समूहले सत्ताको मन खुसी बनाउन सक्छ त्यसले नै लाइसेन्स पाउने पक्का छ । यदि सरकारले लाइसेन्सका आवेदन पुनः माग गरेमा अब ती कम्पनीले फेरि आवेदन दिनु पर्नेछ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्न र थप ब्रोकर लाइसेन्स खुलाउन आवश्यक रहेको बताउँदै आएको छ । धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवम् अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको बनाउन पनि बजारमा नयाँ स्टक चाहिने बोर्डको भनाइ छ ।
यो विषय अध्ययनका लागि राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीको संयोजकत्वमा समिति गठन भएको छ । अब यो समितिले नयाँ स्टक एक्सचेन्ज आवश्यक भएको वा नभएको विषयमा अध्ययन गर्नेछ । तर, धेरैले सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन चाहेको र यो समिति एउटा प्रक्रिया मात्रै भएको बुझेका छन् ।