नेप्सेमा अरुण काबेलीको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावरको हकप्रद सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको शतप्रतिशत अर्थात एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त सेयर, सम्बन्धित सयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ ।

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबार सम्बन्धी सेवा सुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबिच सो कम्पनीको उद्घाटन गरी टीएमएस मार्फत धितोपत्र खरिद सेवाको शुभारम्भ गरेका छन् । सो समारोहमा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यवसायिक सफलताको कामना गर्नुभयो र धितोपत्र बजारको विकास र विस्तारसंगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपुर्ण भूमिका खेल्न सक्नुपर्ने बताए । त्यसैगरी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने बताए । समारोहमा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका संचालकहरु लगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो । नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोवारको लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान कामनपा वडा नं १० नयाँबानेश्वर शंखमुलमार्ग र नेपाल स्टक एक्सचेञ्ज लि.को धितोपत्र दलाल सदस्य नं ८९ रहेको छ ।

सोमबारको बजारमा तीव्र उतारचढाव, कारोबार भने पाँच महिनायताकै उच्च

काठमाडौं । सोमबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार शुरुभए लगत्तै उकालोको बाटो समातेको नेप्से परिसूचक बजार बन्द हुँदा दोहोरो अंकले घटेको हो । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७८ प्रतिशतले घटी हो । अघिल्लो दिन अर्थात आइतबारको सेयर बजार अस्वभाविक रुपमा बढेर बन्द भएसँगै सोमबारको बजारमा करेक्सन देखिएको र यो सामान्य रहेको जानकारहरु बताउँछन् । परिसूचक घटेपनि कारोबार रकममा भने उछाल देखिएको छ । दिनभरमा ३०३ वटा स्क्रीप्सको ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको भएको सेयर कारोबार भएको छ । जुन विगत ५ महिना यताकै सर्वाधिक रकम हो । गत असार १७ गते आइतबारको बजारमा ५ अर्ब ८ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको थियो । सोमबार सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २५ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५७ लाख, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ५६ लाख, माउन्टेन इनर्जी नेपालको १४ करोड ४० लाख र शिवम् सिमेन्टको १३ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि ५ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये बोटलर्स नेपाल (बालाजु), सामूदायिक लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालको ९.९० प्रतिशत र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६० प्रतिशतले बढेको छ । टप लुजरको शीर्ष स्थानमा समता घरेलु लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ७.१५ प्रतिशतले घटेर प्रतिकित्ता ६१० रुपैयाँमा झरेको छ । समूहको आधारमा हेर्ने हो भने चार वटा समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । उत्पादनमूलक, माइक्रोफाइनान्स, म्यूचुअल फण्ड र निर्जीवन बीमा समूह बढेका छन् भने बाँकी समूह घटेका छन् ।