एनआईविएल ग्रोथ फण्डको लाभांश घोषणा

काठमाडौं । एनआईविएल ग्रोथ फण्डका इकाईधनीहरूलाई लाभांश घोषणा गरेको छ । एनआइएमबि एस क्यापिटलको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले एनआईविएल ग्रोथ फण्डका इकाईधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूलाई गत वर्षको नाफाबाट कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको हो । लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति पछि तय गरिने क्यापिटलले बताएको छ । यस फण्डको कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हो ।

पशुपति रिन्यूएबल्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । पशुपति रिन्यूएबल्सले सर्वसाधारणमा प्राथमिक सार्वजनिक (आईपीओ) निष्काशन  गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन सम्झौता पत्रमा पशुपति रिन्यूएबल्सका तर्फबाट अध्यक्ष डा. संदिप शाह र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् बिक्री प्रबन्धक एनएमबी क्यापिटलले नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा कामहरू गर्ने अध्यक्ष सन्दीप शाहले बताए । साथै नियामकबाट सबै प्रक्रिया पुरा गरी छिट्ट आईपीओ निष्काशन गर्ने उनको भनाइ छ । वैकल्पिक ऊर्जामा लगानी गर्न स्थापना भएको यस कम्पनीले हाल १० मेगावाटको धरमनगर सोलार फार्म आयोजना र १५ मेगावाटको धरमनगर सोलार फार्म आयोजना छिट्टै सञ्चालनमा ल्याउने गरी कामहरू भइरहेको अध्यक्ष शाहले बताए ।

एचआईडीसीएलको १ करोड ६८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को अवितरित हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको संस्थापक सेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापक अन्तर्गतको अवितरित हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त सेयर नेप्सेमा ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न मिल्नेछ । कम्पनीले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म अवितरित सेयर बिक्री गरेको थियो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार उक्त सेयरको कटअफ मूल्य १३५ रुपैयाँ कायम भएको हो ।