गार्डियन माइक्रोलाइफको सेयर मूल्यमा सकारात्मक सर्किट, २०१ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.९५ अंकले घटेर २६७६ बिन्दुमा झरेको छ । आज ४२ कम्पनीको मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३२० कम्पनीको १ करोड ६ लाख लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ६४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४५ करोड, सीइडीबी होल्डीङसको २७ करोड, नेपाल रिइन्स्योरेन्सको २६ करोड र हिमालयन पावरको २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज गार्डियन माइक्रोलाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

नेप्सेको सीईओ बने चुडामणि चापागाईं, को हुन् उनी ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नेप्सेको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । झापा निवासी चापागाईं बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव बटुलेका अनुभवी व्यक्तित्व हुन् । उनले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा उच्च पदमा रहेर काम गरिसकेका छन् । यसअघि नारदकुमार लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय भए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । लुइँटेल पर्यटन व्यवसायीसमेत भएकाले उनको नाम सिफारिस गर्दा आलोचना हुन सक्ने सम्भावना देखिएपछि मन्त्रिपरिषद्ले पुन: चापागाईंलाई नयाँ सीईओ नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो । नयाँ नियुक्तिसँगै नेप्सेले अब व्यवस्थापकीय नेतृत्व पाउने भएको छ।

गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको चैत १८ गते बसेको बैठकले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । सो प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले आगामी २०८२ वैशाख ५ गते वार्षिक साधारण सभा आह्वान गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि चैत २८ गते कम्पनीले बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार, चैत २७ गतेसम्म सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।