नविल बैंकमा नेतृत्व परिवर्तन, सेयर बजारमा शून्य प्रभाव

काठमाडौं । नबिल बैंकको उच्च नेतृत्व परिवर्तन हुँदा यस कम्पनीको सेयर मूल्यमा शून्य प्रभाव परेको छ । सेयर बजार खुल्नुअघि नै बैंकको मूल नेतृत्व परिवर्तन भएको सूचना बैंकले सार्वजनिक गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले पदबाट दिएको राजीनामा स्वीकृत भएको बैंकले औपचारिक रूपमा जनाएको छ । साथै बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कामु सीईओको जिम्मेवारी पाएका छन् । नबिल बैंकमा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा दुई जना कार्यरत थिए, मनोज ज्ञवाली र सुजित शाक्य । बैंकले ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको छ । बुधबार नविल बैंकको सेयर प्रतिकित्ता ४७७ देखि ४८५ रुपैयाँसम्ममा कारोबार भएको छ । कारोबार बन्द हुन्दा प्रतिकित्ता ४८१ रुपैयाँ मूल्य कायम भएको छ । मंगलबारको तुलनामा यो मूल्य ८७ पैसाले बढी हो । बुधबार नेप्से परिसूचक भने ४०.४७ अंकले बढेर २६२३ भएको छ । यस वर्ष नविलको सेयर मूल्य प्रतिकित्ता ७०० सम्ममा कारोबार भएको छ । न्यूनतम मूल्य भने ४१९ रुपैयाँसम्म झरेको थियो । यतिबेला सेयर किन्नेका लागि नविल कम जोखिमयुक्त र बढी लाभदायक हुने जानकारहरु बनाउँछन् ।

हिमालयन लाइफ र सोपान मल्टिपलको सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स र सोपान मल्टिपल कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । दुईटै कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । हिमालयन लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनी टिकाराम न्यौपानेले ७९ हजार ३९२ कित्ता र दुर्गा प्रसाद न्यौपानेले ७९ हजार ३९२ कित्ता गरी कुल १ लाख ५८ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद पाउने छन् । इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र बोलपत्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरूका लागि सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ । यस्तै, सोपान मल्टिपल कम्पनीका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा दर्ता कायम रहेको ३ लाख ३ हजार ४२६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । कम्पनीका अनुसार सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता राखिएको हुँदा खरिद गर्न इच्छुकले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । उक्त अवधिभित्र सेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

माछापुच्छ्रे क्यापिटललाई धितोपत्र बोर्डबाट निष्कासन तथा सेयर रजिष्ट्रार सेवा प्रदान गर्ने अनुमति

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको रूपमा सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ। यस अनुमति पश्चात कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन, हकप्रद सेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरूको निष्कासन, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थापन गर्न सक्नेछ । साथै कम्पनीले सेयर रजिष्ट्रारको रुपमा सेयरधनीहरुको विवरण व्यवस्थापन, लाभांश वितरण, स्वामित्व हस्तान्तरण लगायतका थप सेवा प्रदान गर्न सक्नेछ ।