वर्षको अन्तिम दिन सेयर बजार घट्यो, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । २०८१ सालको अन्तिम दिन सेयर बजार सामान्य अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६६२ बिन्दुमा झरेको छ ।  आज ८८ कम्पनीको मूल्य बढ्दा १५७ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  आइतबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सीइडीबी होल्डीङसको भएको छ । सीइडीबीको ४५ करोड रुपैयाँ बढकिो कारोबार भएको छ ।  आज पनि अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.२१, विकास बैंक ०.७७, फाइनान्स ०.८८, हाइड्रोपावर ०.४५, जीवन बीमा ०.६१, उत्पादन ०.८४ र लघुवित्त ०.२६ प्रतिशत घटेका छन् । चार सेक्टरका सूचक भने बढेका छन् । होटल तथा पर्यटन ०.१४, लगानी १.६८, म्युचुअल फन्ड ०.२६ र निर्जीवन बीमा ०.०८ प्रतिशत बढेका छन् । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४४ करोड, राधी विधुत कम्पनीको ४३ करोड, हिमालयन रिइन्स्योरेन्सको ३९ करोड र नारायणी डेभलपमेन्ट बैंकको २० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  आइतबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य १० प्रतिशतले बढेको छ । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

ट्रेड टावरले वैशाख ८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । ट्रेड टावरले २०८२ वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गर्नेछ ।  जसमध्ये पहिलो चरणमा कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँको ३ लाख ९७ हजार १६९ कित्ता सेयर बिक्री गर्नेछ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्पनीको आईपीओमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन ्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानी कर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

डिजिहबको ‘टीएमएस’ सार्वजनिक : सेयर बजारमा ब्रोकरहरूका झन्झट कम गर्ने

काठमाडौं । डिजिहब प्रालिले नेपाली सेयर बजारमा डिजिटल युगको नयाँ अध्यायको सुरुआत गर्दै अन्तर्राष्ट्रिय स्तरको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) सार्वजनिक गरेको छ । उक्त सिस्टम हालै पाँच प्रमुख ब्रोकर कम्पनीमा लाइभ भइसकेको छ । डिजिहबको यो नवीनतम प्लेटफर्मले सेयर कारोबारलाई सहज, छरितो र पूर्ण रूपमा स्वचालित बनाउने लक्ष्य लिएको छ । टीएमएसको सेवा डेस्कटप, वेब र मोबाइल (एन्ड्रोइड र आइओएस दुवै) संस्करणमा उपलब्ध छ । यसले प्रयोगकर्ताहरूलाई कुनै पनि स्थानबाट कुनै पनि समय सेयर कारोबार गर्न सहज बनाउनेछ । यस प्रणालीमा रहेका अर्डर बास्केट, एडभान्स चार्टिङ, मल्टी–विन्डो सपोर्ट, चाइल्ड अकाउन्ट म्यानेजमेन्ट लगायतका सुविधाहरूले कारोबार प्रक्रिया थप सूचना–आधारित, सुरक्षित र चाँडो बनाउने विश्वास लिइएको छ । डिजिहबको टीएमएसले इन्टिग्रेटेड ब्याक अफिस, सेन्ट्रलाइज्ड केवाईसी प्रणाली, एडभान्स रिस्क मोड्युल र रियल–टाइम नाफारनोक्सान ट्र्याकिङ जस्ता सुविधामार्फत ब्रोकरहरूले कारोबारका क्रममा झेल्दै आएका समस्यालाई कम गर्ने अपेक्षा गरिएको छ । डिजिहबले यो प्रणालीमार्फत नेपालको सेयर बजारलाई पूर्ण रूपमा डिजिटल बनाउने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उन्नत बनाउने कार्यमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । कम्पनीले चाँडै नै यो प्रणाली अन्य ब्रोकर कम्पनीहरूमा पनि विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । साथै, सेयर कारोबारीलाई उत्कृष्ट प्रविधि र सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।