एसके इनर्जी डेभलपमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त
काठमाडौं । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारीका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । एसके इनर्जी डेभलपमेन्टका तर्फबाट अध्यक्ष वीरबहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) भीष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे । एसकेले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरका २० लाख ८० हजार कित्ताले हुन आउने रकम २० करोड ८० लाख बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
अर्बिट इनर्जीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले आइपीओ निष्काशसन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको ५० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्कासन गर्न लागेको हो । उक्त सम्झौता-पत्रमा अर्बिट इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । अर्बिट इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका स्थित साभाखोलाको पानी सदुपयोग गरि सभा खोला बी २१.५ मेगावाट र सभा खोला सी ६.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५५ प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १ वर्ष भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको जनाएको छ ।
सेयर बजारमा ६ अर्ब ९६ करोडको कारोबार
काठमाडौं । साताको दास्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७७ कम्पनीको मूल्य बढ्दा १६१ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२२ कम्पनीको १ करोड ४४ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाको भएको छ । नेपाल रिपब्लिकको २४ करोड रुपैयाँ बढीको कारोबार भएको हो । साथै, सीईडीबी होल्डिङको १५ करोड, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड र नेपाल रिइन्स्योरेन्स कम्पनीको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज न्यादी हाइड्रोपावर र गार्डिन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै बोटर्लस नेपाल बालाजु र उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।