सेयर बजारमा दोहोरो अंकको गिरावट, राधी विद्युतको सर्वाधिक कारोबार
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेर २६५५.८४ बिन्दुमा झरेको छ । आजको कारोबारमा ३०८ कम्पनीका १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २८ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिए पनि २१७ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा सबैभन्दा बढी कारोबार राधी विद्युत कम्पनीको भएको छ, जसको कारोबार ५८ करोड रुपैयाँभन्दा बढी पुगेको छ । त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ५१ करोड, न्यादी ग्रुपको ४१ करोड, सानिमा माइ हाइड्रोको ३५ करोड र हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट कम्पनीको ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफका सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधबारको सेयर कारोबारमा अधिकांश उपसूचकहरू रातो भएका छन् । सबैभन्दा धेरै घटेको विकास बैंक समूह हो, जसको सूचक २.०९ प्रतिशतले घट्यो । यसैगरी, अन्य अधिकांश समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन् । बैंकिङ समूह १.२३ प्रतिशत, फाइनान्स १.१५ प्रतिशत, होटल तथा पर्यटन १.०१ प्रतिशत, हाइड्रोपावर १.७८ प्रतिशत, लगानी समूह १.७६ प्रतिशत, माइक्रोफाइनान्स १.०४ प्रतिशत, निर्जीवन बीमा ०.९७ प्रतिशत, अन्य समूह १.५० प्रतिशत र व्यापार समूह ०.३० प्रतिशतले घटेका छन् । जीवन बीमा समूह ०.४५ प्रतिशतले मात्रै घट्दा उत्पादनमूलक समूह भने १ अंकमुनिको वृद्धिसहित हरियो अवस्थामा रहेकाे नेप्सेले जनाएकाे छ ।
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । वैशाख ७ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताहरूले वैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत आरबीबी डिबेञ्चर २०८८’ बिक्री खुला गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग्स नेपालले बैंकलाई केयर एनपी ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता तुलनात्मक रुपमा पर्याप्त तथा न्यूनतम् कर्जा जोखिम भएको संस्था रहेको संकेत गर्दछ ।
सेयर बजार घट्यो, ८ अर्बभन्दा बढीको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ९ अंकले घटेर २६८८ विन्दुमा झरेको छ । बजार ओरालो लागे पनि कुल ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको बजारमा ३१९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १६० कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य यथावत् छ । सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको भएको छ, जसको कारोबार ४४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । त्यसपछिका धेरै कारोबार गर्ने कम्पनीहरूमा हिमालयन पावरको ४० करोड, हिमालयन रिइन्स्योरेन्सको ३६ करोड, नेपाल रिइन्स्योरेन्सको ३५ करोड र राधी विद्युतको ३५ करोड रुपैयाँ रहेका छन् । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले र क्रेस्ट माइक्रो लाइफको ९.९८ प्रतिशतले वृद्धि भएको हो ।