वैदेशिक रोजगारीमा रहेका नेपालीले ट्रेड टावरको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । ट्रेड टावरको आईपीओमा आवेदन दिने आज वैशाख २२ गते अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्पनीको आईपीओमा आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँको ३ लाख ९७ हजार १६९ कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
९ महिनामा जीवन बीमकको १४ प्रतिशतले बढ्यो व्यवसाय, कसको व्यवसाय कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमकहरूले १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमा पोलिसी बिक्री गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। कम्पनीहरूले आर्जन गरेको कुल व्यवसाय १४.६२ प्रतिशतले बढेको हो । गत आवको यही अवधिमा कम्पनीहरूले १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । चालु आवको ९ महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले ९ महिनाको अवधिमा ३३ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले आर्जन गरेको व्यवसाय गत आवको भन्दा १२.०९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीले २९ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । धेरै बीमा शुल्क संकलन गर्ने दोस्रो बीमा कम्पनीमा नेशनल लाइफ इन्स्यारेन्स रहेको छ । नेशनल लाइफले चालु आवको ९ महिनामा गत आवको यही अवधिको तुलनामा २.१३ प्रतिशतले व्यवसाय बढाएको छ । कम्पनीले गत आवमा १२ अर्ब ८९ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा चालु आवको ९ महिनामा १५ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, धेरै बीमा शुल्क आर्जन गर्ने तेस्रो कम्पनी एलआईसीले चालु आवको चैत्र मसान्तसम्ममा १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आवमा आर्जन गरेको व्यवसाय गत आवको तुलनामा ९.३९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीले १२ अर्ब ८३ करोड १० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । अन्य जीवन बीमा कम्पनीहरूमा हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै सिटिजन्स लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, सानिमा रिलायन्स ४ अर्ब ८४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ४४ करोड, आईएमई लाइफ ३ अर्ब ७७ करोड , रिलाइबल नेपाल ३ अर्ब ६९ करोड, प्रभु् महालक्ष्मी ३ अर्ब ६७ करोड रुपैयाँ र सन नेपालले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्।
प्रभु महालक्ष्मी लाइफबाट ३ जना संस्थापक बाहिरिँदै
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तीन जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । तीन संस्थापकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिन लागेका हुन् । कम्पनीका अनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ५ लाख ५० हजार कित्ता, विनिता उपाध्यायले १ लाख १० हजार कित्ता र माधव प्रसाद पन्थीले ७८ हजार ५ सय कित्ता गरी कुल कुल ७ लाख ३८ हजार ५ सय कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र खरिद गर्नका लागि आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।