गार्डियन माइक्रोको सेयर मूल्यमा सकारात्मक सर्किट, विन नेपाल लघुवित्तको मूल्यमा नकारात्मक

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा एकल अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा पुगेको छ । आज ९० कम्पनीको मूल्य बढ्दा १४५ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । सोमबार ३१० कम्पनीको २ करोड ११ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ८९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्सको ८० करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको ४४ करोड, घलेम्दी हाइड्रोपावरको ३८ करोड र सीइडीबी होल्डिङको ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

सम्पदा लघुवित्तले लाभांश नदिने

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । फागुन ११ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लघुवित्तले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ ।

नेरुडे मिर्मिरे लघुवित्तबाट ११ जना संस्थापक बाहिरिँदै, २८० रुपैयाँमै फर्स्ट माइक्रोफाइनान्सको सेयर

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट ११ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । ११ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ३ लाख ६१ हजार २१६ कित्ता सेयर बिक्री गरेर लघुवित्त संस्थाबाट बाहिरिने भएका हुन् । लघुवित्तका अनुसार संगिता खेतानले आफ्नो नाममा रहेको ४ हजार ५०८ कित्ता, कोपिला राईले १ लाख कित्ता, गुप्तलाल मण्डल राजबंशीले २५ हजार कित्ता, संजय कुमार श्रेष्ठले ६० हजार कित्ता, एनआरएन इन्फ्रास्टक्चर एण्ड ।डेभलपमेन्टले ७४ हजार १०६ कित्ता, राम प्रसाद दाहालले ९ हजार ९ सय कित्ता सेयर बिक्रीमा राखेका हुन् । यस्तै, ओमकार कृष्ण बजिमयले १ हजार ७२ कित्ता, शिशिर आचार्यले १ हजार ६३० कित्ता, सरोजा फुयलले ३० हजार कित्ता, गणेश प्रसाद आचार्यले २५ हजार कित्ता र जनु शर्माले ३० हजार कित्ता सेयर बिक्रीमा राखेको लघुवित्तले जनाएको छ । यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनी मधुसुधन राज दाहालले आफ्नो नाममा रहेको २ लाख १७ हजार ७१४ कित्ता सेयर बिक्रीमा राखेका छन् । लघुवित्तको उक्त सेयरको मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । लघुवित्तको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री गरिने लघुवित्तले जनाएको छ ।