श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत, अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता साधारण सेयर (प्रति कित्ता १०० रुपैयाँ अंकित दर) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि भदौ ११ देखि १६ गतेसम्म निष्काशन गरिएको थियो । यस सेयरमा कुल ६४ हजार ८१२ आवेदकले १० लाख १५ हजार ४७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ६४ हजार ७९ वटा आवेदन स्वीकृत भएका छन् भने १३ वटा आवेदन रद्द भएका थिए । मागभन्दा बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथा (लटरी) प्रणालीमार्फत गरिएको हो । सोअनुसार ३० हजार ९९३ जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् । बाँकी रहेका ८ कित्ता सेयर पनि सोही लगानीकर्तामध्ये ८ जनामा बाँडफाँड भई प्रत्येकले १/१ कित्ता अतिरिक्त सेयर प्राप्त गरेका छन् ।
कालिन्चोक इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट
काठमाडौं । कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको जारी पूँजी ८० करोड रुपैयाँ रहेको छ । यसमध्ये ३० प्रतिशत हिस्सा सर्वसाधारणलाई आईपीओमार्फत निष्काशन गरिनेछ भने बाँकी ७० प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी भइसकेको कम्पनीले जनाएको छ । हाल कम्पनीले धितोपत्र बोर्डको लगानी कम्पनी सम्बन्धी निर्देशन अनुसार पर्यटनअन्तर्गत विभिन्न केवलकार कम्पनीहरूमा, ऊर्जा क्षेत्रमा र कृषि उत्पादन क्षेत्रमा लगानी गर्दै आएको छ । सोमबार सम्पन्न सम्झौतामा कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटी र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले प्राथमिक सेयर निष्काशनको प्रक्रिया अघि बढाउने जनाएको छ ।
सिटि होटलको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने, कति कित्ता भर्न पाइन्छ ?
काठमाडौं । सिटि होटलले आज भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ ०.८० कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।