एभरेष्ट बैंकको २० प्रतिशत लाभांश घोषणा, यस्तो छ लाभांश इतिहास

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भई वार्षिक साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । बैंकले गत वर्ष ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ थियो । यस आधारमा बैंकले ३८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । तर, बैंकले केही रकम जगेडामा राखेर २० प्रतिशत मात्रै वितरण गर्ने निर्णय गरेको हो ।   

संयुक्त उर्जाले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं । संयुक्त उर्जा लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरिने १०० रुपैयाँ अंकित दरका ४१ लाख ६० हजार कित्ताले हुन आउने ४१ करोड ६० लाख रुपैयाँ रकम बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।  उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र संयुक्त उर्जाका तर्फबाट प्रबन्ध संचालक  गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन् ।   

गंगा हेल्थ केयरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । साना तथा मझौला कम्पनी श्री गंगा हेल्थ केयर इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारमा सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसै सन्दर्भमा, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा गंगा हेल्थ केयर इण्डष्ट्रिजको तर्फबाट अध्यक्ष सुरज प्रसाद खत्री र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पूँजीको ३० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई निष्काशन गर्ने जनाएको छ ।