एसवाई प्यानलले असोज ७ गतेदेखि आइपीओ निष्काशन गर्दै

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्ने भएको हो ।  कम्पनीले भदौ २९ गतेदेखि आईपीओ निष्काशनको तयारी गरेपनि देशको विषम परिस्थितिका कारण असोज ७ गतेदेखि निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दालाई छुट्याएको छ ।  यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई छुट्याएको छ ।  उद्योग प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरे पश्चात् बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले छिटोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रभु बैंकको सौराहा र टाँडी शाखा, उद्योगको कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

लाभांश पारित गर्न कामना सेवा विकास बैंकले डाक्यो १९ औँ साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कामना सेवा विकास बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले १९ औँ वार्षिक साधारण सभा असोज २४ गते, काठमाडौंमा बिहान ११ बजे डाकेको छ ।  बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७८ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।  साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । साथै, चालु आवको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । 

बिहीबारदेखि सेयर कारोबार हुने

काठमाडौं । बिहीबारदेखि सेयर कारोबार हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्देशन बमोजिम असोज २ गते बिहीबारदेखि सेयर कारोबार हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।  उनका अनुसार धितोपत्र बोर्डको निर्देशनअनुसार असोज २ गते बिहीबारदेखि धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सुचारु हुनेछ ।  जेनजी आन्दोलनका कारण लगानीकर्ताहरुको माग बमोजिम सेयर कारोबार स्थगित गरिएको थियो ।