नेप्सेमा दोस्रो नेगेटिभ सर्किट, ४० मिनेट रोकियो कारोबार

काठमाडौं । नेप्से कारोबार फेरि केही समयका लागि स्थगित भएको छ । सेयर कारोबार खुलेको २ मिनेटमा ४ प्रतिशत घट्दा २० मिनेट स्थगित भएको दोस्रो पटक नेगेटिभ सर्किट लागेपछि सेयर कारोबार रोकिएको हो । सेयर कारोबार खुलेको २ मिनेटमा ४ प्रतिशत अर्थात् १०७.०४ अंक घटेपछि २० मिनेट स्थगित भएको थियो । २० मिनेटपछि अर्थात् ११ः२३ मिनेटमा पुनः सेयर कारोबार ५ प्रतिशत अर्थात् १३३.६१ अंकले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । नेप्से परिसूचक २ हजार ५३८.६३ अंकमा झरेको छ । नेप्सेका अनुसार १९१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ११ कम्पनीको सेयर मूल्य भने बढेको छ । हालसम्म २८ करोड ७५ लाख रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरणको प्रस्ताव असोज १ गते बसेको सञ्चालक समितिको बैठकले पारित गरेको हो । कम्पनीका अनुसार सो लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

सेयर कारोबार हल्ट, २ मिनेटमै १०७.०४ अंक घट्यो

काठमाडौं । सेयर कारोबार हल्ट भएको छ । सेयर कारोबार खुलेको केही समयमै सेयर कारोबार हल्ट भएको हो । जेनजी आन्दोलनपश्चात् पहिलो पटक खुलेको सेयर कारोबार २ मिनेटमा १०७.०४ अंक घटेर केही समयका लागि बन्द भएको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०७.०४ अंक घटेर २ हजार ५६५.२१ अंकमा रोकिएको छ । सेयर कारोबार खुलेको केही मिनेटमै ४ प्रतिशत भन्दा बढी घटेपछि २० मिनेटको लागि स्थगित भएको नेप्सेले जनाएको छ ।