सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले लाभांश वितरण गर्ने

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले लाभांश वितरण गर्ने भएका छन् । फण्डहरुले गत आर्थिक वर्ष २०८१/८२ को मूनाफाबाट इकाईधनीलाई लाभांश वितरण गर्ने भएका हुन् । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ३ को प्रतिफल वितरण गर्ने भएका हुन् । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले २० प्रतिशत लाभांश वितरण गर्ने भएका छन् । त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत प्रतिफल लाभांश गर्ने भएको हो । इकाईधनी बुक क्लोज हुने बारेको सूचना पछि प्रकाशन हुने कम्पनीले जनाएको छ ।  

सिक्लेस हाइड्रोपावरको १५.७८ प्रतिशत लाभांश घोषणा, १ सय प्रतिशत हकप्रद सेयर

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २५ गते बसेको बैठकले १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने १२ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ६७ लाख १० हजार ५२६ रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव निराजन महर्जनले जानकारी दिए ।  उनका अनुसार बोनस सेयर वितरणपश्चात् कायम हुने चुक्ता पुँजीको कम्पनीले १ सय प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद सेयरबाट संकलित रकम अन्य जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उनको भनाइ छ । 

पिपुल्स पावरको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ ।  असार २२ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा लगानीकर्ताहरुले ​​​​​​आज साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गरेको हो । कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो । त्यसैले असार १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।