नेपालको स्वास्थ्य सेवा गुणस्तरीय र सुलभ हुन सकेन

काठमाडौं । नेपालमा स्वास्थ्य सेवा गुणस्तरीय र सुलभ हुन नसकेको पाइएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्रले स्वास्थ्य सूचकहरूमा सुधार भए पनि स्वास्थ्य सेवागुणस्तरीय र सुलभ हुन नसकेको देखाएको हो ।  नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार सन् १९९६ मा मातृ मृत्युदर (प्रति लाख जीवित जन्ममा) ५३९ रहेकोमा घटेर सन् २०२२ मा १५१ मा पुगेको छ ।  यस अवधिमा ५ वर्षको बाल मृत्युदर (प्रति हजार जीवित जन्ममा) ११८ र शिशु मृत्युदर (प्रति हजार जीवित जन्ममा) ७८ बाट घटेर ५ वर्षको बाल मृत्युदर ३३ र शिशु मृत्युदर २८ पुगेको छ ।  महिलाको प्रजनन् दर ४.६ बाट घटेर २.१ मा पुगेको छ । जसमा ग्रामीण क्षेत्रमा महिलाको प्रजनन दर ४.८ बाट २.४ तथा सहरी क्षेत्रमा २.९ बाट २.० मा घटेको छ । नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्याङ्कअनुसार प्रति चिकित्सक जनसङ्ख्या अनुपात सन् २००५ मा ३ हजार ९ सय ७५ रहेकोमा सन् २०२५ मा ७ सय ३५ कायम भएको छ । उपचारका लागि सहर पस्नुपर्ने बाध्यता अहिले पनि ग्रामीण स्तरका नागरिकले उपचारका लागि सहर धाउनुपर्ने बाध्यता कायमै रहेको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच सीमित रहेकोले आधारभूत उपचारको लागि पनि नागरिक सहर धाउनुपर्ने बाध्यता छ । उपचारका लागि विदेश  जटिल रोग लाग्नेबित्तिकै धेरैजसो नेपाली नागरिक अझै उपचारका लागि विदेश जाने गरेका छन् । स्वास्थ्य सेवा पर्याप्त, गुणस्तरीय र विश्वसनीय नहुँदा विदेश जानेक्रम अझै यथावत छ ।  कतिपय नेपालीहरू जटिल रोगको शंका हुनेबित्तिकै परीक्षणका लागि विदेश जाने गर्छन् भने नेपालमा अझै स्वास्थ्य सेवा महँगो हुँदै गएको स्थिति छ । स्वास्थ्य बीमा आफै समस्यामा  गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ पहुँच पुर्‍याउन सुरु गरिएको स्वास्थ्य बीमा आफै समस्यामा परेको अवस्था छ । बीमा दाबी भुक्तानी गर्न नसक्दा स्वास्थ्य संस्थाले सेवा रोकेका छन् भने स्वास्थ्य बीमाको उचित नियमित हुन नसक्दा यो प्रणाली नै जोखिममा परेको छ । पूर्वाधार र जनशक्तिमा सुधार पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्ति संख्यात्मक रूपमा बढेको छ । नेपालको स्वास्थ्य प्रणाली बिरामी हेरचाहमा मा केन्द्रित रहेको छ । विसं २०७१ मा नेपालमा सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या ४ हजार ४ सय ८५ रहेकोमा बढेर ८ हजार ७ सय ४६ पुगेको छ । यस अवधिमा सरकारी अस्पतालमा बिरामी शय्या ७ हजार ५५० बाट बढेर १८ हजार ६४० पुगेको छ ।  यस्तै, सरकारी चिकित्सको सङ्ख्या २ हजार १५४ बाट बढेर ७ हजार ३० पुगेको छ भने मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरको संख्या १९ हजार ३३७ बाट बढेर ३९ हजार ६७५ पुगेको छ ।

शिक्षाको गुणस्तर, सीप र बजारको मागबीच तालमेल कमजोर

काठमाडौं । शिक्षाको गुणस्तर, सीप र बजारको मागबीच तालमेल कमजोर देखिएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको स्वेतपत्रले नेपालमा साक्षरता दरमा वृद्धि भए पनि सीप र बजारको मागबीच तालमेल कमजोर रहेको देखाएको हो ।   २०७८ सालको जनगणना  अनुसार नेपालको शिक्षा क्षेत्रमा साक्षरता दर बढेर ७६.३ प्रतिशत पुगेको छ । साक्षरतादर ५८.० प्रतिशतबाट बढेर ७६.३ प्रतिशत पुग्नु सकारात्मक उपलब्धि भए पनि यो क्षेत्रमा आमूल रूपान्तरणको आवश्यकता अझै खड्किएको स्वेत पत्रमा भनिएको छ ।  साक्षरतामा देखिएको यो वृद्धिले शैक्षिक पहुँच विस्तार भएको सङ्केत गरे पनि गुणस्तरीय सिकाइ, शिक्षकको व्यावसायिक दक्षता र विपन्न एवं सीमान्तकृत समुदायसम्म समान पहुँच अझै पर्याप्त छैन । वर्तमान शिक्षा प्रणालीलाई रोजगारी र बजारको मागसँग प्रत्यक्ष आबद्ध गर्न नसकिँदा शैक्षिक बेरोजगारीको दर तीव्र रूपमा बढ्दै गएको छ ।  यसका लागि प्रमाणपत्रमुखी नभई श्रम बजारमा बिक्ने दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक र सीपमूलक शिक्षामा लगानी केन्द्रित गर्नुपर्ने आवश्यक्ता अर्थमन्त्रालयको स्थितीपत्रले देखाएको छ । 

पूर्वाधार कमजोर हुँदा ‘बाह्रै महिना’ पर्यटकीय गन्तव्य बन्न सकेन

काठमाडौं । काठमाडौं पर्यटनको प्रचुर सम्भावना र पूर्वाधार विकास हुँदै गए पनि बाह्रै महिनाको गन्तव्य बन्न नसकेको अर्थमन्त्री डा. श्वर्णिम वाग्लेले बताएका छन् । सोमबार वाग्लेले सार्वजनिक गरिएको मुलुकको पछिल्लो आर्थिक अवस्थालाई समेटेर ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ (श्वेतपत्र) मा सो कुरा उल्लेख गरेका हुन् ।  नेपालको आर्थिक समृद्धिको बलियो आधार मानिएको पर्यटन क्षेत्र अतुलनीय प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाका कारण विश्वकै प्रमुख आकर्षणमध्ये एक हो । श्वेतपत्रअनुसार सन् २०२५ मा करिब ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने उनीहरूको औसत बसाइ अवधि १६.३४ दिन पुगेको छ । यसले पर्यटन क्षेत्रमा उत्साहजनक सुधारको संकेत गरेको वाग्लेले बताएका छन् ।  पर्यटक आगमनसँगै होटल तथा आतिथ्य क्षेत्रको पूर्वाधारमा उल्लेखनीय विस्तार भएको छ । हाल नेपालमा २२२ तारे होटलसहित १६ सयभन्दा बढी पर्यटकीय स्तरका होटल सञ्चालनमा छन्, जसको दैनिक क्षमता ६४ हजारभन्दा बढी शय्या रहेको छ । तर, यति सम्भावना र लगानी हुँदाहुँदै पनि कमजोर हवाई तथा सडक पूर्वाधार, नयाँ बनेका अन्तर्राष्ट्रिय विमान स्थलहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नु र राष्ट्रिय ध्वजावाहकको कमजोर सेवा जस्ता कारणले पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन नसकेको श्वेतपत्रमा उल्लेख छ । गुणस्तरीय पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटी विस्तार, पूर्वाधार सुधार र डिजिटल प्रवद्र्धनलाई प्राथमिकतामा राख्नुपर्ने श्वेतपत्रमा भनिएको छ । साथै, गैरआवासीय नेपाली सञ्जाललाई प्रभावकारी रूपमा उपयोग गर्दै नेपाललाई ‘बाह्रै महिना घुम्न मिल्ने’, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।