आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैन : मन्त्री पौडेल

काठमाडौं । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन् । विश्व स्वास्थ्य संगठन र सेन्ट जुड चिल्डेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्स अन्र्तगत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधीको पहिलो खेप प्राप्त गरेको हो । क्रमैसँग थप औषधी उपलब्ध हुने संगठनले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु नपरोस् भनेर मन्त्रालयले मंसिर १ गतेबाट लागु हुने गरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै प्राप्त सहयोग बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । ‘देशको प्रमुख स्वास्थ्य समस्या बनिरहेको क्यान्सर नियन्त्रणका लागि हामीले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवद्र्धनका लागि पनि काम गरिरहेका छौं, मन्त्री पौडेलले सन्देशमा भनेका छन्, ‘कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट बञ्चित नहोउन् भनेर हामीले निःशुल्क उपचारको व्यवस्था पनि गरेका छौं ।’ मन्त्री पौडेलले क्यान्सरको उपचारलाई विस्तार गर्दै सबै प्रदेशमा पुर्याउने काम भएको भन्दै यसमा यसमा क्रमैसँग सुधार ल्याउने योजना रहेको उल्लेख गरे । प्राप्त औषधी भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारका लागि उपयोग हुने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए । ‘बाल क्यान्सरको निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णयमा यी औषधीले महत्वपूर्ण भूमिका खेल्नेछन्,’ उनले भने, ‘क्यान्सर नियन्त्रणमा प्रभावकारी काम गर्ने मन्त्रीज्यूको निर्णयमा बाल क्यान्सरको निःशुल्क उपचार एक महत्वपूर्ण निर्णय हो ।’

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन भर्ने आज अन्तिम दिन रहेको छ । माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँको १ लाख ८० हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन पाउने छन् । कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता कम्पनीका कर्मचारी र बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

नुवाकोटमा नि:शुल्क स्वास्थ्य शिविर, २५० महिलाले गराए पाठेघरको जाँच 

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन, बेलकोटगढी नगरपालिका वडा न. ३, लायन्स क्लब अफ काठमाडौं विष्णुमती, लायन्स क्लब अफ काठमाडौं इनोभेसनको संयुक्त आयोजनामा  बेलकोटगढी नगरपालिका वडा न. ३  को कुमरी स्वस्थ्य चौकीमा नि:शुल्क स्वास्थ्य शिविर  सञ्चालन भएको हो । शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनले जनाएको छ । शिविरमा १० जना महिलाको रिङ प्रेसरी राखिएको छ भने केही महिलालाई अप्रेसन गर्न सल्लाह दिइएको छ ।  शिविरमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गरी औषधी वितरण गरिएको छ भने थप उपचारको लागि रिफर गरिएको छ । डा. प्रनिश पोखरेलले थापाथली अस्पतालमा निःशुल्क अप्रेसन गरिने जानकारी दिए ।   स्वास्थ्य शिविरमा बोल्दै वडाअध्यक्ष कौशिला पुडासैनीले आफ्नो वडाका महिलाहरू धेरै समस्या लुकाएर बसेको थाहा भएको बताइन् । उनले भनिन्, ‘यति धेरै समस्या लुकाएर बस्नु भएको रहेछ, आज यो शिविरमा उहाँहरूको रोगको पहिचान भयो खुसी छु ।’  लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन अध्यक्ष कल्पना बस्नेतले यो शिविरले नुवाकोटका महिला दिदीबहिनीहरूले नि:शुल्क पाठेघरको मुखको क्यान्सरको परीक्षण गराएको बताइन् । ‘महिला दिदीबहिनीहरूले आफूमा समस्या हुँदा पनि लाज, आार्थिक अभाव र जनचेतनाको कमीले गर्दा समस्या लिएर बस्नु भएको रहेछ,’ उनी भन्छन्, ‘यस क्याम्पमा उनीहरूले स्वास्थ्य सेवा पाएकोमा  खुसी व्यक्त गर्नुका साथै स्वास्थ्य जनचेतनासम्बन्धी कार्यक्रमहरू गर्न आवश्यक छ ।’ स्वास्थ्य शिविरमा वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रनिश पोख्रेल, डा. रोमन बोगटी, डा. दुर्गा मिश्र ,बागमती प्रदेश स्वास्थ्यका नीति तथा योजनाका विज्ञ,नर्सिङ अधिकृत शान्ता सापकोटा, प्यारामेडिक बबिता बस्नेत लगायत सिद्धार्थ एभरग्रीनका सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो । लायन्स क्लब इन्टरनेशनल ३२५ आइ का जोन २६ का जोन चियरपर्शन गणेश बहादुर सुनामको पनि सहभागिता थियो ।