स्मार्टच्वाइस टेक्नोलोजिको सञ्चालकमा ५ जना निर्वाचित, रविन बने अध्यक्ष
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)को सञ्चालकमा ५ जना निर्वाचित भएका छन् । कम्पनीको २३औं वार्षिक साधारण सभाबाट आगामी कार्यकालका लागि ५ जना निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीको सञ्चालकमा आइएमई लिमिटेडबाट रविन कुमार नेपाल रसविन ढकाल, प्रभु बैंकबाट रश्मी पन्त, ग्लोबल आइएमई बैंकबाट अनिल जोशी र सिटी एक्सपे्रस मनि ट्रान्सफरबाट सुभाष ज्ञवाली चयन भएका हुन् । साथै सञ्चालक समितिको बैठकले रविन कुमार नेपाललाई पुनः अध्यक्षमा चयन गरेको छ । यस्तै कम्पनीको स्वतन्त्र सञ्चालकमा मृगेन्द्र प्रधानलाई नियुक्त गरेको जनाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गरेको छ । एससीटी विभिन्न बैंक, वित्तीय संस्था, तथा रेमिट्यान्स कम्पनीबाट प्रवद्र्धित तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालकका रुपमा स्थापित संस्था हो । यस संस्थाबाट एससीटी–यूनियन पे, भिसा, मास्टरकार्ड, डाइनर्स लगायतका कार्डहरु स्वीकार तथा जारी गर्ने गरिन्छ । साथै स्मार्ट क्यूआर, मोबाइल बैंकिङ सेवा तथा अन्तर बैंक रकमान्तर सेवा पनि प्रदान गर्दै आइरहेको छ । हाल २१ भन्दा बढी बैंक तथा वित्तीय संस्था तथा १०० भन्दा बढी सहकारी संस्थाहरुले एससीटी मार्फत विभिन्न डिजीटल भुत्तानीका सेवाहरु लिइरहेका छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान अवरोध कायमै, समाधानमा जुट्यो सरोकारवाला
काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर उडान प्रतिबन्धसम्बन्धमा विभिन्न सरोकारवालाहरूसँग छलफल भएपनि हालसम्म कुनै ठोस निर्णय नभएपछि पर्यटनसँग सम्बन्धित संघ-संस्थाहरू छलफलमा जुटेका छन् । बुधबार नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, पर्वतारोहण संचालक संघ नेपाल, नाटा, टान, होटल संघ नेपाल, सीएनआईलगायत सम्बन्धित सरोकारवालाहरूको उपस्थितिमा बैठक बसेको हो । बैठकमा उपस्थित सरोकारवालाहरूले हाल उक्त क्षेत्रमा देखिएका समस्याहरू कानुन विपरीत रहेको बताएका छन् । साथै उक्त समस्या तत्काल निराकरण नभए अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुनुका साथै पर्यटन उद्योग नै धराशायी हुने निष्कर्ष निकालेको छ । साथसाथै यो समस्या यस्तै रहिरहे हेलिकप्टर कम्पनीहरूलाई ठूलो आर्थिक भार पर्न गई व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको छ । बैठकमा उपस्थित सरोकारवालाले यो समस्या तत्कालै सम्बोधन हुनुपर्ने एकमत जाहेर गरेका छन् । यस विषयमा देखिएको समस्या समाधानको लागि पर्यटनसँग सम्बन्धित संघसंस्थाले समस्या समाधानका लागि वायुसेवा सञ्चालक संघ, नेपाल तथा सदस्य कम्पनीहरूलाई साथ दिनुका साथै समस्याको समाधान गर्ने धारणा राखेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका, स्थानीय युवा समूहलगायत अन्य संघ संस्थाहरू तथा सगरमाथा राष्ट्रिय निकुन्जले २०२५ जनावरी ०१ देखि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको थियो । निकुन्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यावसायिक रूपमा उडान रोकेको हो । हाल उक्त क्षेत्रको हेलिप्याडमा अवरोध कायम नै रहेको छ । खुम्बु क्षेत्रमा उडान खोल्ने निर्णय, एक महिनापछि जुट्यो सहमति
सरकारद्वारा नसर्ने रोगबाट बच्न एक महिने परीक्षण अभियान सुरु
काठमाडौं । सरकारले नसर्ने रोगहरुबाट बच्न आवश्यक सावधानीका लागि एक महिने परीक्षण अभियान सुरु गरेको छ । नसर्ने रोगकै कारण हुने मृत्युदर घटाउन जनचेतना अभिवृद्धिका लागि सरकारले फागुन १ गते (आज) बाट अभियान सुरु गरेको हो । नेपालको कुल मृत्यु संख्यामध्ये ७९ प्रतिशत नेपालीको नसर्ने रोगकै कारण मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताए । नसर्ने रोग समयमै समाधान गर्नसके सामान्य मान्छे सरह बाँच्न सकिने भएकाले आफू स्वस्थ छु कि छैन भनेर स्वास्थ्य संस्था जाने बानीको विकास गर्नुपर्ने उनले बताए । परीक्षणबाट केही समस्या देखिए जीवनशैली परिवर्तन गरेर रोगबाट हुने क्षति कम गर्न सकिने उनको भनाइ छ । ‘केही दशकदेखि नसर्ने रोगका कारणले हुने जटिलता, डिस्याबिलिटी र मृत्यु चाहीँ संक्रमणका कारण हुने रोगभन्दा बढोत्तरी रुपमा बढ्दै आएको छ । त्यसै क्रममा सन् २०२० मा भएको हाम्रो सर्वेमा ७१ प्रतिशत नसर्ने रोगका कारण र ८ प्रतिशत रोड ट्राफिक एक्सिडेन्ट गरी ७९ प्रतिशत नेपालीहरुको मृत्यु नसर्ने रोगकै कारण हुने गरेको छ,’ उनले भने । यो अभियानबाट प्राप्त उपलब्धिलाई प्रविष्ट गर्न र अर्को वर्ष पनि अभियान सञ्चालन गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच सहमति भएको प्रवक्ता डा. बुढाथोकीले बताए । तीन तहका सरकारले बजेट राखेर अभियान सफल बनाउने र निरन्तरता दिने भन्ने विषयगत समितिमा निर्णय भएको उनले बताए । ‘यसलाई यो वर्ष फागुन महिनाभरी नसर्ने रोग परीक्षणको अभियान चलाइरहँदा स्थानीय तहलाई यहाँहरुकै स्रोत साधन र जनशक्ति जे छ त्यसैलाई प्रयोग गर्नुस् अर्को आर्थिक वर्षदेखि तपाईंहरुले पनि केही बजेट छुट्याउनुस् र संघले पनि केही बजेट दिन्छ, प्रदेशले पनि केही बजेट दिन्छ भनेर सहमति भएको छ,’ उनले भने । तीन तहले थोरैथोरै बजेट छुट्याएर अर्को वर्ष अभियानलाई निरन्तरता दिने प्रवक्ता बुढाथोकीको भनाइ छ । सरकारले आजबाट ३० वर्ष माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो । देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । ३० वर्ष माथिका उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाई र तौलको अनुपात पहिचान गर्ने लक्ष्य लिइएको छ ।