मदन भण्डारी विश्वविद्यालयमा जम्मा १५ जना मात्रै विद्यार्थी
काठमाडौं । छिमेकी मुलुक भारतका विश्वविद्यालय तथा शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको घुइँचो लागिरहँदा नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाइरहेका छन् । पछिल्लोपटक सार्वजनिक भएको विवरण अनुसार भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (किट) विश्वविद्यालयमा मात्रै १ हजार ५ सय जनासम्म नेपाली विद्यार्थीले अध्ययन गरिरहेको बताइएको छ तर नेपालमा सञ्चालित विश्वविद्यालयमध्ये केहीमा भने मुस्किलले ५ सय विद्यार्थीले मात्रै अध्ययन गरिरहेको सरकारी तथ्याङ्कले नै देखाएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार राजर्षिजनक विश्वविद्यालयमा जम्मा ५२७ जना मात्रै विद्यार्थी छन् । अझ मदन भण्डारी विज्ञान तथा प्राविधिक विश्वविद्यालयमा त जम्मा १५ जना मात्रै विद्यार्थी पढ्छन् । यद्यपि सूचना प्रविधिको क्षेत्रमा खपत हुने उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने हुनाले यस विश्वविद्यालयमा सबै प्रकारका विद्यार्थीले भर्ना पाउँदैनन् । आयोगका अनुसार नेपाल खुला विश्वविद्यालयमा १ हजार ६३४, लुम्बिनी बौद्ध विश्वविद्यालयमा १ हजार ८३२ जना विद्यार्थी अध्ययनरत छन् । प्रादेशिक विश्वविद्यालयको अवस्था पनि दयनीय नै छ । यहाँका विश्वविद्यालयमा समयमा पढाइ नसकिनु, परीक्षा भए पनि नतिजा समयमा नआउनु तथा समयको माग अनुसार पाठ्यक्रममा परिवर्तन नहुनु जस्ता कारणले विद्यार्थीलाई आकर्षित गरेर टिकाउन नसकिएको शिक्षाविद्को भनाइ छ ।आजको गारखापत्रबाट साभार
विराटनगरमा पहिलो पटक ‘किडोपिया स्टुडियो’ सञ्चालनमा
काठमाडौं । बालबालिकाको सुरक्षित हेरचाह, शैक्षिक प्रवर्द्धन र सिर्जनात्मक विकासलाई ध्यानमा राख्दै विराटनगरमा पहिलो पटक आधुनिक सुविधासम्पन्न ‘किडोपिया स्टुडियो’ सञ्चालनमा आएको छ। व्यस्त अभिभावकहरूका लागि ठूलो सहजता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो डे केयर केन्द्रले बालबालिकाका लागि सुरक्षित, मनोरञ्जनात्मक तथा ज्ञानवद्र्धक वातावरण उपलब्ध गराउने जनाइएको छ । ‘किडोपिया स्टुडियो’ ले बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिँदै विभिन्न अत्याधुनिक सुविधा समेटेको छ । यसमा इनडोर तथा आउटडोर खेल क्षेत्र, पुस्तकालय, दृश्य-श्रव्य शिक्षण (एभी) कोठा, आईटी तथा आर्ट एन्ड क्राफ्ट स्टुडियो जस्ता सिर्जनात्मक गतिविधिहरू समावेश छन् । साथै तार्किक सोंच तथा समस्या समाधान क्षमताको अभिवृद्धि गर्न ब्रेन गेम तथा पजल्सको विशेष व्यवस्था गरिएको छ । बच्चाहरूको पोषण तथा स्वास्थ्यलाई ध्यानमा राख्दै प्रोटिनयुक्त स्वस्थ भोजनको आपूर्ति गरिएको छ भने आकस्मिक स्वास्थ्य सहायता उपलब्ध गराउन प्राथमिक उपचार (फर्स्ट एड) सेवाको व्यवस्था गरिएको छ । बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै ‘किडोपिया स्टुडियो’ मा गेटेड सेक्युरिटी अर्थात् निगरानीयुक्त सुरक्षित वातावरण निर्माण गरिएको छ । प्रशिक्षित शिक्षक तथा अनुभवी स्टाफको साथमा बच्चाहरूले खेल्दै–खेल्दै सिक्ने अवसर पाउनेछन् जसले उनीहरूको मानसिक, शारीरिक तथा सामाजिक विकासलाई सघाउनेछ। विराटनगर १० मा अवस्थित ‘किडोपिया स्टुडियो’ हप्ताको सातै दिन बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ ।
बालबालिकाको क्यान्सर उपचारका लागि ४ अस्पतालबाट निःशुल्क औषधि
काठमाडौं । क्यान्सरपीडित बालबालिकाहरू रुपमा निःशुल्क औषधि पाउने भएका छन् । बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सरपीडित बालबालिकाहरूले सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने बताएका हुन् । उनले क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लगायत संस्थाहरूले औषधि उपलब्ध गराएपछि थप सहज भएको बताए । उनले औषधिको वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवपस्थित गरिने जानकारी गराए । काठमाडौँको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बिपी कोईराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधि वितरण हुने उनको भनाइ छ । ‘हामीले चारवटा अस्पतालबाट बालबालिकाका लागि क्यान्सरको उपचार निःशुल्क भनेर तीन महिनादेखि नै कार्यान्वयन गर्दै आएका छौँ । अब हामीलाई थप सहज भएको छ,’ उनले भने, ‘डब्लुएचओ, युनिसेफ र सेन्ट जोर्स रिसर्च सेन्टरबाट औषधि प्राप्त भएको छ, त्यसले हाम्रो अभियानलाई सहज ढंगबाट सञ्चालन र कार्यान्वयन हुन स्थिति बनेको छ। त्यसैले बालबालिकाको उपचार क्यान्सरको उपचारमा मात्रै होइन अन्यत्र पनि राज्यले सहयोग पु-याउने गरी प्रावधानको प्रबन्ध गरिनु पर्छ भनेर भनिरहेका छौँ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव हरिप्रसाद मैनालीले औषधि आवश्यकताका आधारमा सर्वसुलभ रुपमा वितरण गर्ने व्यवस्था मिलाइने बताए । ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन (जिपिएसिसिएम) ले आगामी पाँच वर्षका लागि ३५ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने भएको छ । संस्थाले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधिहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय औषधिको छनोटदेखि वितरणसम्मको प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण गरिएको हो । नेपालले ‘ग्लोवल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि प्राप्त गरेको थियो । बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधि खरिद गरेको हो । नेपाललाई उक्त औषधि निःशुल्क उपलब्ध गराइएको हो ।