घलेगाउँमा ग्रामीण पर्यटन प्रवर्द्धन तथा रजतजयन्ती समारोह हुँदै

काठमाडौं । नेपालको प्रमुख ग्रामीण पर्यटन गन्तव्य घलेगाउँमा ‘पर्यटन प्रवर्द्धन तथा रजतजयन्ती समारोह’ आयोजना हुने भएको छ । विसं २०५७ मा औपचारिक रूपमा ग्रामीण पर्यटनको सुरुआत गरेको घलेगाउँले २५ वर्ष पूरा गरेको अवसरमा आगामी वैशाख २३, २४ र २५ गते विशेष कार्यक्रम आयोजना गरिँदैछ । सो समारोहले घलेगाउँलाई थप पर्यटकीय केन्द्र बनाउने अपेक्षा गरिएको छ । घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा हुने कार्यक्रममा स्थानीय संस्कृति, ग्रामीण भिलेज होमस्टे, साहसिक खेलकुद तथा विभिन्न सांस्कृतिक झलक प्रस्तुत गरिनेछन् । पर्यटन बोर्ड, स्थानीय तह, निजी क्षेत्र तथा सरोकारवाला निकायको सहकार्यमा कार्यक्रम सम्पन्न गरिनेछ । घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार पर्यटन प्रवर्द्धनका लागि गुरुङ समुदायको परम्परागत नृत्य, झ्याउरे नाच, घाँटु नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुति विशेष आकर्षणका रूपमा रहनेछन् । साथै पर्यटकलाई स्थानीय जीवनशैलीको अनुभव गराउन होमस्टे (घरबास) भ्रमण गराइनेछ । घलेगाउँलाई ‘स्मार्ट भिलेज’ का रूपमा विकास गर्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिँदैछ । वातावरणमैत्री प्रविधि, फोहर व्यवस्थापन, नवीकरणीय ऊर्जा प्रवद्र्धन तथा डिजिटल पूर्वाधार विकासमा ध्यान दिइनेछ । उनका अनुसार कार्यक्रमअन्तर्गत ग्रामीण पर्यटनको भविष्य, आवश्यक नीतिगत सुधार, सार्वजनिक-निजी साझेदारीका अवसरबारे छलफल गरिनेछ । समारोहमा फुटसल, म्याराथन दौड, साइक्लिङ, साहसिक खेल आयोजना गरिनेछन् । विजेतालाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । फुटबल प्रतियोगितामा एमएससी क्लब बालिया (भारत), त्रिवेणी युवा क्लब बेँसीसहर, नाल्मा ११, बिवाइसी भोटेओडार, भूइँखेल फुटबल क्लब, अभिषेक चर्च, फ्रेण्डसिप युथ क्लब, गुन्नी फुटबल क्लब, सीवाईसी नेपाल तुरतुरे, रड्स रामपुर, एन्फा मनाङ र बँसीसहर युथ सोसाइटी सहभागी हुनेछन् ।

ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षामा सम्मिलित परीक्षार्थीलाई ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाद्वारा प्रकाशित विज्ञप्तिमा परीक्षा जस्तो संवेदनशील शैक्षिक गतिविधिलाई शान्तिपूर्ण र भयरहीत वातावरणमा सञ्चालन हुन दिनु देशका सम्पूर्ण नागरिकको कर्तव्य रहेको उल्लेख गरिएको छ । सो परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सम्मिलित छन् । परीक्षा निरन्तर सञ्चालनमा छ । साथै, विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान तथा संकायबाट स्नातक तहका हजारौँ विद्यार्थी सम्मिलित परीक्षा सञ्चालन भइरहेको छ । लाखौँ विद्यार्थीको भविष्य निर्माणको एउटा महत्त्वपूर्ण कडीका रुपमा रहेको परीक्षालाई निर्वाध सञ्चालन गराउने वातावरण बनाउन मन्त्रालयले आग्रह गरेको हो । ‘लाखौँ विद्यार्थीको अधिकारलाई उपभोग गर्ने सहज वातावरण बनाइदिन सम्बन्धित सबै निकाय, शिक्षण संस्था, शिक्षक समुदाय, अभिभावक र आम समुदायलाई मन्त्रालय हार्दिक आग्रह गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

अन्नपूर्ण हिमालबाट डेढ करोड रुपैयाँ आम्दानी, आरोहणका लागि ४२ जनाले लिए अनुमति

काठमाडौं । वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहरणका लागि ४२ जनाले अनुमति लिएका छन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्दछ । वसन्तयामका लागि ४ समुहका ३० पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिए । उनका अनुसार वसन्तयामका लागि हालसम्म नेपालका ५ वटा हिमाल आरोहरण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण आरोहण गर्नेहरू छन् । अघिल्लो वर्षभन्दा यो वर्ष अन्नपूर्ण आरोहण गर्न अनुमति लिने आरोहीहरू बढेका छन् । अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएबापत विभागले १ करोड ४७ लाख ९ हजार ४२० रुपेयाँ शुल्क सङ्कलन भएको विभागका निर्देशक न्यौपानेले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षको वसन्तयाममा २५ जनाले अनुमति लिँदा ५९ लाख ६१ हजार ७८० रुपैयाँ शुल्क सङ्कलन भएको थियो । अनुमति लिएका आरोहीहरू आधार शिविर पुग्न थालेका अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोज पदमार्गका अभियन्ता तेज गुरुङले बताए । अन्नपूर्ण आरोहणका लागि योयाम उपयुक्त मानिन्छ । उनका अनुसार अन्नपूर्णको हालसम्म ४८८ जनाले सफल आरोहण गरेका छन् । आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आगामी जेठ २० गते अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविरमा विशेष कार्यक्रमको तयारी गरेको पालिका कार्यालयले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्णमा पहिलो पटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण आरोहण गरेको ३ वर्षपछि सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।