‘समर सेड्युल’ नहुँदा विमानस्थल फेरि सुनसान

राधेश्याम विश्वकर्मा काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात् यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण सुनसान बन्न पुगेको हो । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेको वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर सेड्युल’ लिएका छैनन् । यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमान बाहेक अन्य अन्तराष्ट्रिय उडान हुने छैन ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमान बन्द हुनु संयोग मात्र हुन नसक्ने भन्दै यहाँका व्यवसायीले आक्रोश पोखेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान अवधि घट्दा भैरहवा विमानस्थललाई ‘डाइभर्सन पुल’ को रूपमा प्रयोग गरिएको भन्दै भैरहवाका व्यवसायीले आक्रोश व्यक्त गरेका हुन् । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहले भैरहवाबाट उडान हुँदै आएका जजिरा एयरलाइन्स, फ्लाइ दुबई, थाई एयर एसियाले ‘समर सेड्युल’ नलिएको बताए । उनले जजिरा एयरवेजले अलिकता आशा भने देखाएको बताए ।  ‘मे’ महिनादेखि जजिराले भैरहवाबाट उडान भर्ने आश्वासन दिएको साहले जानकारी दिए ।  साहले भैरहवा विमानस्थलबाट उडान र अवतरण तथा सेवा प्रवाहमा भने कुनै समस्या नरहेको जिकिर गरे ।  ‘सुरुमा जनवरीमा महिनामा ‘लो भिजिविलिटी’ को कारण थोरै समस्या भयो । तर यो नगण्य मात्रामा थियो । वायुसेवा कम्पनीलाई, यात्रुलाई दिनुपर्ने सेवा प्रवाह तथा प्राविधिकसम्बन्धी अन्य खासै समस्या आएन,’ उनले भने ।  साहले विमानस्थल सञ्चालनमा सरकारको मात्र नभई निजी क्षेत्रको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको तर निजी क्षेत्र नै यहाँ आउन इच्छुक नरहेको जिकिर गरे ।  ‘विमानस्थल सञ्चालन हुनु भनेको अन्य व्यवसायको जननी हो, व्यवसाय मुख्य ‘हब’ भएको यस्तो स्थानमा निजी क्षेत्रको पहल अलि कम भएको मेरो विश्लेषण रहेको छ,’ उनले भने, ‘काठमाडौंबाट उड्ने सबै यात्रु काठमाडौंकै होइनन्, समग्र नेपालका हुन् । यस्तो अवस्थामा सबै यात्रु काठमाडौंबाट नै उड्न खोज्नु भन्नु भैरहवामा केही जटिलता त छ भन्ने देखाउँछ ।’ प्रवक्ता साहका अनुसार वैदेशिक उडानको लागि आवश्यक पर्ने भिसा सेन्टर, श्रम स्वीकृति, मेनपावर, ट्राभल एजेन्सीलगायत तालमाल मिलेको देखिँदैन । काठमाडौंमा केन्द्रित ठूला ट्राभल एजेन्सी र मेनपावर एजेन्सीलाई यता आकर्षित गर्न सकिए मात्र विमानस्थल दीर्घकालीन रूपमा सञ्चालन हुन सक्ने यहाँको बुझाइ छ । यसको लागि सरकारले पहल गरे निजी क्षेत्रले भने पहल गर्न नसकेको उनको भनाइ छ । तर निजी क्षेत्र भने प्रवक्ता साहको यो भनाइ सत्य नरहेको बताउँछन् । एयरपोर्ट सञ्चालनको लागि आन्दोलन गर्दै आएको सिद्धार्थ सञ्जाल रूपन्देही र यसलाई नेतृत्व गर्नुहुने अध्यक्ष अनिल ज्ञवाली यो भनाइ कर्मचारीको बहाना मात्र भएको बताउँछन् ।  नेपाल सरकारले विमानस्थलबाट विमान कम्पनीहरूलाई दिने छुट सुविधा समयमै प्रदान नगर्नु प्रमुख कारण रहेको उनी बताउँछन् । उनका अनुसार वायुसेवा कम्पनीलाई यहाँबाट उडान नगर्नुको एउटा निहुँ मात्र भएको छ । यसबाहेक काठमाडौं केन्द्रित व्यवसायीले काठमाडौंभन्दा बाहिर उडान गराउन नचाहेको आरोप उनको छ । ज्ञवालीले सरकारले नै विमानस्थल सञ्चालन गर्न नचाहेको आरोप लगाउँदै यहाँका स्थानीय फेरि आन्दोलित हुने वातावरण बनाएको बताए ।  त्यसो त भैरहवा विमानस्थलमा वायुसेवा कम्पनीले यात्रु नपाएको भन्ने खबर गलत रहेको तथ्याङ्कले देखाउँछ । विमानस्थलका प्रवक्ता साहले उपलब्ध गराएको जानकारीअनुसार ‘विन्टर सेड्युल’ अर्थात् जनवरी, फरवरी र मार्च महिनामा गरी विमानस्थलबाट १५ हजार १४८ जना यात्रुले सेवा लिएका छन् । यसमा ८ हजार ३९ जनाको आगमन भएको छ भने यहाँबाट ७ हजार १०९ जना उडेका छन् । मार्च महिनामा मात्रै ७ हजार ३४ जना यात्रुहरूले विमानस्थलबाट सेवा लिएका छन् । यसमा सबैभन्दा बढी जजिरा एयरलाइन्स र फ्लाइ दुबईले यात्रु बोकेको तथ्याङ्कबाट देखिन्छ । जजिराले मार्च महिनामा ३ हजार ६०७ यात्रु र फ्लाइ दुबईले २ हजार ३२३ यात्रु बोकेको छ । विमानस्थलबाट उडान नहुनु सरकारी उदासीनता रहेको र भैरहवा विमानस्थललाई ‘डाईभर्सन पुल’ को रूपमा मात्र प्रयोग गरिएको यहाँका व्यवसायीको आरोप छ । गत कात्तिक २३ देखि विमानस्थलभित्र भौतिक संरचना निर्माणको काम थालिएपछि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गरिएको थियो । मङ्गलबारदेखि उडान समय लम्बिएसँगै भैरहवाबाट हुने उडान स्थगित हुनुलाई संयोग मात्र मान्न नसकिने सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यको भनाइ छ । काठमाडौंको विमानस्थललाई समय घटाएर सञ्चालन गरिँदा भैरहवा विमानस्थललाई प्रयोगमा ल्याउनुको लागि डाइभर्सन पुलको रूपमा प्रयोग गरिएको भन्ने निजी क्षेत्रको आशंका अहिले आएर सत्य भएको उनको भनाइ छ । अध्यक्ष आचार्यले विमानस्थल सञ्चालनमा निजी क्षेत्रले सक्ने जति प्रयास गरे पनि सरकारले नै चासो नदेखाएको गुनासो गरे । उनका अनुसार साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । भैरहवा र पोखराका अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीति अनुरूप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तराष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ । निगमको सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले भदौ १ गतेदेखि लागू हुने गरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर एक सय अर्को निर्णय नभएसम्मका लागि कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ । अन्तराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत सरकारले दिइरहेको छ । सरकारले पर्यटन बोर्डले प्रति टिकट लिने शुल्क पनि उक्त समयभर २ विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि २०८३ भदौसम्म छुट दिएको छ ।  काठमाडौंको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा इन्धनको मूल्य सस्तो रहेको छ । तर सरकारले प्रदान गर्ने यस्ता सुविधालाई समयमै दिनुपर्ने भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नयाँ वर्षको अवसरमा चौँरी महोत्सव हुँदै, भूटानबाट समेत पर्यटक आउने

काठमाडौं । नयाँ वर्ष विसं २०८२ का अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव हुँदैछ । विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरीको संरक्षणमार्फत पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । फालेलुङ गाउँपालिकाले यहाँका फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीप ज्योति युवा क्लब र कञ्चनजङ्घा चौँरी पालन तथा संरक्षण संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको जनाएको छ । महोत्सवको स्थानीय व्यवस्थापनमा यहाँका सामुदायिक वन उपभोक्ता संस्थाहरू समेत रहेका छन् । महोत्सवमा छ सयभन्दा बढी चौँरी प्रदर्शन गरिनुका साथै चौँरी जन्य सामग्री, स्थानीय घरेलु उत्पादन, हिमाली संस्कृति झल्काउने सामग्री तथा दृश्यहरू प्रदर्शनमा राखिने गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले जानकारी दिए ।  ‘विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरी संस्कृतिको जगेर्ना गरी पर्यटन विकास, उच्च पहाडी क्षेत्रको पर्यापर्यटन सन्तुलन कायम राख्न  सन्देश प्रवाह, जैविक विविधताको संरक्षणमा जोड, प्राकृतिक तथा जैविक विविधतासँग जोडिएको नेपाल–भारत सीमा क्षेत्र भएकाले नेपालले पर्यटकीय लाभ लिन सकिने सन्देश दिने उद्देश्यले महोत्सव आयोजना गरिएको छ,’ उनले भने ।  यस्तै, फालोट क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गरी विश्वभरका पर्यटकलाई आकर्षित गर्ने तथा पर्यापर्यटनको विकासमार्फत चौँरीपालक किसानसहित स्थानीयबासीको आम्दानीको स्रोत वृद्धि गर्ने महोत्सवले लक्ष्य लिएको छ । महोत्सव समुद्री सतहबाट ३ हजार ५०० मिटर उचाइमा अवस्थित नेपाल-भारत सीमा क्षेत्र नजिकैको चाररातेमा आयोजना हुनेछ । चैत ३१ गते सुरु हुने महोत्सव वैशाख २ गते सम्पन्न हुने उपाध्यक्ष जबेगुले जानकारी दिए ।  विसं २०७४ सालदेखि यहाँ निरन्तर महोत्सव गरिँदै आइएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय काँकडभिट्टालगायत संस्था प्रवर्द्धकका रूपमा रहेको यस वर्षको महोत्सवमा नेपालसहित भारत र भूटानबाट समेत पर्यटक आउने आयोजकमध्येकै फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका उपाध्यक्ष शील्प साम्पाङले जानकारी दिए । महोत्सवमा उत्कृष्ट चौँरीपालक कृषक सम्मान, चौँरीपालकबीच मैत्रीपूर्ण फुटबल खेल, चौँरी नृत्य जस्ता कार्यक्रम हुनेछन् । आयोजकका अनुसार चौँरी महोत्सव पाँचथरको फालेलुङमा मात्रै हुने गरेको छ । चौँरी पालन क्षेत्रमा विश्वमै दुर्लभ वन्यजन्तु रातो हाब्रेसमेत पाइने गरेको छ । नेपाल–भारत सीमा क्षेत्रमा आयोजना हुने यस महोत्सवमा दुवै देशबाट चौँरी प्रदर्शनका लागि ल्याइन्छन् भने दुवै देशबाट पर्यटकको सहभागिता रहने गर्छ । सीमावर्ती फालोट क्षेत्रमा बर्सेनि करिब तीन लाख पर्यटकले भ्रमण गर्ने गरेको अनुमान गरिन्छ । नेपालतर्फ चौँरी महोत्सवको नियमित आयोजना तथा पर्यटन पूर्वाधार निर्माणले पर्यटक आवागमन वृद्धि भई नेपाली लाभ लिन थालेको फालेलुङ गाउँपालिकाका प्रवक्ता भरत कुमार खपांगीले बताए । 

एनसेल फाउन्डेसनले शिक्षामा एनसेल एनएसएलमार्फत सहयोग पुर्‍याउने

काठमाडौं । हाल जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तिकरणप्रति आफ्नो प्रतिबद्धता अनुरुप यो सिजनभरि गरिने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता जनाएको छ । यो पहल विषेशगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरुको स्रोतको अभावलाई घटाउँदै गुणस्तरीय शिक्षाका लागि योगदान पु¥याउने फाउन्डेसनको प्रतिबद्धतामा आधारित रहेको छ । मंगलबारसम्म खेलिएका खेलहरू र तीनका नतिजा अनुसार फाउन्डेसनले ११ गोल बापत २७५ शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित भइसकेको छ । यसरी वितरण हुने सामग्रीहरुमा झोला, कापी, सिसाकलम, शार्पनर, इरेजर जस्ता आवश्यक शैक्षिक सामग्रीहरू समावेश हुन्छन् । यसले स्रोतसाधन अभाव भएका समुदायका विद्यार्थीहरूलाई उनीहरुको सिकाइ अनुभव सुधार गर्न योगदान पु¥याउने लक्ष्य राखेको छ । एनसेल फाउन्डेसनले खेललाई शैक्षिक सहयोगसँग जोडेको यो पहिलो पटक होइन । यस अघि नेपाल प्रिमियर लिग (एनपीएल) का दौरान, फाउनडेसनले प्रत्येक १ चौका बराबर ४ वटा शैक्षिक शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चत गरेको थियो ।  त्यसअनुसार, एनपीएलका ६५३ चौकाहरूबापत फाउन्डेसनले कुल २,६१२ शैक्षिक सामग्रीहरू वितरण गर्दैछ । हालसम्म, फाउन्डेसनले नेपालभरिका ४२ सरकारी विद्यालयका विद्यार्थीहरूलाई ५ हजारभन्दा बढी शैक्षिक सामग्रीहरू वितरण गरिसकेको छ । एनएसएलको समापनपछि, एनसेल फाउन्डेसनले सम्बन्धित निकायहरू र अन्य सरोकारवालासँगको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गर्नेछ । यो पहलमार्फत फाउन्डेसनले शिक्षा क्षेत्रमा एनसेलको सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ र सकारात्मक सामाजिक परिवर्तन र सामुदायको विकासको लागि शिक्षाको विकास अपरिहार्य रहेको स्पष्ट पार्दछ ।