चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति नियुक्त
काठमाडौं । उपकुलपति रिक्त चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएको छ । कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको हो । जसमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सञ्जीव शर्मा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. श्रीकृष्ण श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डबलबहादुर धामी र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. पवन शर्मालाई नियुक्त गरिएको छ । उपकुलपति हुने मध्ये तीन जना रेक्टर तथा एकजना डिनलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
काठमाडौंमा १९ औं दिन पनि शिक्षक आन्दोलन, शिक्षा ऐनको माग यथावत
काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूले सोमबार पनि काठमाडौंमा प्रदर्शनलाई निरन्तरता दिएका छन् । काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्मको सडक खण्डमा शिक्षकहरूले प्रदर्शन गर्दै तत्काल शिक्षा विधेयक पारित गर्न माग गरेका हुन् । उनीहरू विगत १९ दिनदेखि नियमित रूपमा आन्दोलनमा छन् । सरकारले वैशाख १२ गतेबाट सुरु हुने बजेट अधिवेशनमा विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि शिक्षकहरू विश्वस्त देखिएका छैनन् । उनीहरूले अघिल्लो पटक भएका सम्झौता कार्यान्वयन नभएको अनुभव दोहोरिन सक्ने भन्दै योपटक विधेयक पारित नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् । 'सरकारको प्रतिबद्धता कागजी मात्र नहोस्, ऐन जारी भएपछि मात्र विद्यालय फर्किन्छौं,' आन्दोलनरत एक शिक्षकले भने । शिक्षकहरूको मागप्रति सरकार गम्भीर देखिए पनि विधेयक कहिले जारी हुन्छ भन्नेमा अन्योल छ । सरकारले भने शिक्षा विधेयक र शिक्षकको माग सम्बोधन गर्न बजेट अधिवेशन नै आह्वान गरिएको स्पष्ट पारेको छ । शिक्षकहरूले ऐन जारी भएको दिनबाटै आन्दोलन फिर्ता लिने र पठनपाठन सुचारु गर्ने बताएका छन् ।