अध्ययन भन्छ- उच्च रक्तचापका बिरामीले दिनमा एउटा केरा खाँदा राम्रो हुन्छ

काठमाडौं । उच्च रक्तचाप (बीपी) नियन्त्रणमा राख्न चाहनेहरूका लागि हरेक दिन एउटा केरा खानु उपयोगी हुने देखिएको छ । पोटासियमयुक्त केरा उच्च रक्तचाप नियन्त्रण गर्न प्राकृतिक उपायका रूपमा फाइदाजनक मानिन्छ । विशेषज्ञहरूका अनुसार केरामा पाइने पोटासियमले शरीरमा सोडियमको असरलाई घटाउने र रक्तनलीमा हुने दबाब कम गर्ने काम गर्छ । अमेरिकन हार्ट एसोसिएसन र अमेरिकन जर्नल अफ फिजियोलोजी (रिनल फिजियोलोजी) मा प्रकाशित अध्ययनले पनि यसलाई पुष्टि गरेको छ । एक मध्यम आकारको केरामा करिब ४२२ मिलिग्राम पोटासियम हुन्छ, जुन दैनिक आवश्यकताको करिब १० प्रतिशत बराबर हो । अध्ययन अनुसार पोटासियमको अधिक सेवनले नुनको मात्रा घटाउनु भन्दा पनि बीपी नियन्त्रणमा अझ प्रभावकारी भूमिका खेल्छ । केरा खाने सही समय विज्ञहरूका अनुसार केरा बिहान वा बेलुकाको समयमा सन्तुलित नास्ताको हिस्सा बनाएर खान उपयुक्त हुन्छ । खाली पेट केरा खानु उपयुक्त मानिँदैन । रातमा पनि केरा खान सकिन्छ, जसले सुत्ने चक्रलाई सन्तुलित बनाउन मद्दत गर्छ । केरा सेवनका अन्य फाइदाहरू पाचन प्रणालीका लागि लाभदायक फाइबरको स्रोत प्रतिरोधी क्षमता (इम्युनिटी) बलियो बनाउने मेटाबोलिज्म बढाएर तौल घटाउन सहयोग गर्ने मुटु, मिर्गौला, स्नायु र मांसपेशीको कार्य सञ्चालनमा पोटासियमले भूमिका खेल्ने शरीरलाई ऊर्जावान राख्ने विशेषज्ञहरूले उच्च रक्तचाप भएका व्यक्तिहरूलाई औषधीसँगै यस्तो प्राकृतिक उपाय पनि अपनाउन सल्लाह दिएका छन् । तथापि, व्यक्तिगत स्वास्थ्य अवस्थाका आधारमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । एजेन्सी

भीआईपी नेतासँगको छलफलले माग सम्बोधन हुने विश्वासमा शिक्षक, वार्ताले परिणाम दिने संकेत

काठमाडौं । सरकार पक्ष र शिक्षकहरूबीच फेरि वार्ता भएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा भएको करिब ३ घण्टा छलफलले सरकार र शिक्षकबीचको वार्ता सहमति नजिक पुगेको हो ।  सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सकारात्मक भएको बताए । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग बालुवाटारमा बोल्दै मन्त्री गुरुङले शिक्षामन्त्रीले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग गरेको वार्ता सकारात्मक भएको जानकारी दिएका हुन् । उनका अनुसार दुई/तीन दिनभित्र शिक्षकहरूका मागबारे सहमति भई विद्यालय सञ्चालनको वातावरण बन्ने अपेक्षा गरिएको धारणा राखे । मन्त्रिपरिषदको बैठक बस्नुअघि सरकारका तीन मन्त्रीहरू अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त वार्तामा बसेका थिए ।  यस्तै, एमाले महासचिव शंकर पोखरेलसँगै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग आन्दोलन र मागका बारेमा छलफल गरेको बुझिएको छ । शीर्ष नेताहरूसँगको वार्ताले माग पूरा हुने विश्वास शिक्षकहरूले गरेका छन् ।  तत्कालीन शिक्षामन्त्री भट्टराईको ७ बुँदे प्रस्ताव अनुसार सहमति हुने बुझिएको छ । शिक्षक महासंघले मन्त्रिपरिषदबाट पारित गर्ने विषय भनेर ९ बुँदे माग प्रस्ताव गरेको छ । उक्त ९ बुँदे प्रस्ताव वरिपरि मन्त्रिपरिषदबाट शिक्षकका आंशिक मागहरू सम्बोधन भए महासंघले आन्दोलनको स्वरूप फेर्न सकिने जनाउँदै आएको छ । 

सहरी क्षेत्रमा नयाँ अस्पतालका लागि जग हाल्नु पर्दैन, स्वास्थ्य बीमा सङ्कटमा छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विशिष्टिकृत उपचार गर्ने नयाँ अस्पताल अब सहरी क्षेत्रमा थप गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १७औँ स्थापना दिवस तथा रक्त सञ्चार केन्द्रको उद्घाटन समारोहमा उनले देशका सहरी क्षेत्रमा अब नयाँ विशिष्टिकृत अस्पताल खोल्न आवश्यक नभएको बताए ।  उनले भने, ‘सहरी क्षेत्रमा अब नयाँ अस्पताल निर्माण गर्न जग हालिरहनु पर्दैन । भएकै अस्पतालको प्रभावकारी व्यवस्थापन गर्ने, गुणस्तरीय सेवा प्रदान गर्ने, पूर्ण प्रविधिमैत्री बनाउने र सबै उपचार गर्न सक्न गरी क्षमता वृद्धि गरे पुग्छ ।’  देशभरका ६ हजार ७४३ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पुर्याउनुपर्ने र स्वास्थ्य सेवा पुगेका केन्द्रमा पूर्वाधार र प्रविधि नहुँदा गुणस्तरीय सेवा दिन नसकिरहेको उनको भनाइ छ । सरकारले नागरिकको स्वास्थ्य बीमाका लागि १० अर्बभन्दा बढी बजेट विनियोजन नगर्ने तर स्वास्थ्य बीमा बोर्डले विभिन्न अस्पताललाई तिर्नुपर्ने ३७ अर्ब रुपैयाँ पुगिसकेको बताउँदै नागरिकमा आधारित बीमा व्यवस्था लागू गर्न नसके बीमा सङ्कटमा पर्ने उल्लेख गरे । स्वास्थ्य बीमा सङ्कटमा मन्त्री पौडेलले भने, ‘डुब्न लागेको बीमालाई उतार्नुछ भने राज्यको लगानी र नागरिकको योगदानमा आधारित बीमा प्रणाली लागू गर्नुपर्छ ।’  मध्यपुरथिमि नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अस्पतालको गुणस्तरीय सेवा विस्तारका लागि नगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिरहेको बताउँदै अस्पतालाई उत्कृष्ट बनाउने प्रतिबद्धता जनाए ।  अस्पतालका कार्यकारी निर्देशक डा डिके रोशनले देशकै अब्बल अस्पताल बनाउने लक्ष्यका साथ अघि बढिरहेको र हाल दैनिक १ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको जानकारी दिए ।