काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) ले पहिलो पटक नेपालबाहिर सीए सदस्यता परीक्षा सञ्चालन गरेको छ । आईक्यानले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा असोज २ र ४ गते (सेप्टेम्बर १८ र २०, २०२६) सीए सदस्यता परीक्षा सफलतापूर्वक सञ्चालन गरेको हो ।
आईक्यानले पहिलो पटक विदेशमा परीक्षा केन्द्र स्थापना गर्दै दुबईमा सदस्यता परीक्षा सञ्चालन गरेको जनाएको छ । परीक्षा नेपाल र दुबईमा एउटै मिति र एउटै समयमा सञ्चालन गरिएको थियो । यसबाट परीक्षा सञ्चालनको एकरूपता कायम गर्नुका साथै सदस्यता परीक्षाको गोपनीयता, निष्पक्षता र गुणस्तर सुनिश्चित गरिएको संस्थाले जनाएको छ ।
विदेशमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली लेखा व्यवसायीलाई सदस्यतासम्बन्धी प्रक्रिया सहज बनाउन दुबईमा परीक्षा केन्द्र स्थापना गरिएको आईक्यानले जनाएको छ । विश्वका विभिन्न देशमा कार्यरत नेपाली चार्टर्ड एकाउन्टेन्ट तथा लेखा व्यवसायीको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै यो पहल गरिएको संस्थाको भनाइ छ ।
आईक्यानका अनुसार दुबईमा सदस्यता परीक्षा सञ्चालन हुनु संस्थाको आधुनिकीकरण, अन्तर्राष्ट्रिय पहुँच विस्तार र सेवाको पहुँच बढाउने दिशामा महत्वपूर्ण उपलब्धि हो । यसले नेपालबाहिर रहेका नेपाली लेखा व्यवसायीलाई पनि आईक्यानका परीक्षा तथा सदस्यतासम्बन्धी सेवा सहज रूपमा उपलब्ध गराउने संस्थाको प्रतिबद्धता झल्काएको छ ।
परीक्षा सफलतापूर्वक सञ्चालन गर्न परीक्षा स्थल र आवश्यक पूर्वाधार उपलब्ध गराएकोमा आईक्यानले दुबईस्थित इन्डियन हाई स्कूल प्रति आभार व्यक्त गरेको छ । साथै, परीक्षा योजना, समन्वय र सञ्चालनमा सहयोग पुर्याएको दुबई आईक्यान च्याप्टर, सम्बन्धित अधिकारी, कर्मचारी तथा अन्य सरोकारवालालाई पनि संस्थाले धन्यवाद दिएको छ ।
आईक्यानले दुबई परीक्षा केन्द्रको सफल स्थापना र सञ्चालनले विदेशमा रहेका नेपाली लेखा व्यवसायीका लागि सदस्यता परीक्षा र अन्य व्यावसायिक सेवाको पहुँच थप विस्तार हुने विश्वास व्यक्त गरेको छ ।