डल्लुमा ४ करोड ३३ लाखको लागतमा सामुदायिक अस्पताल निर्माण

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा डल्लुस्थित सामुदायिक सेवा परिषदको परिसरमा चार करोड ३३ लाख रुपैयाँको लागतमा अस्पताल निर्माण गरिएको छ ।  भूकम्प प्रतिरोधात्मक पाँच तल्ले भवन निमार्ण गरिएको हो । त्यसमा शल्यक्रिया कक्ष, बिरामी भर्ना कक्षसहितको ३० शय्या छन् । राष्ट्रिय तथा अन्तरराष्ट्रिय दातृ निकाय, सङ्घ संस्थाबाट जाँच परीक्षण, शल्यक्रियासम्बन्धी सामान, अस्पताललाई आवश्यक पर्ने अन्य महङ्गा स्वास्थ्य सामग्री प्राप्त भएका छन् ।  काठमाडौं महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले सामुदायिक अस्पतालको अवधारणामा निर्माण गरिएको भवनबाट प्रवाह हुने स्वास्थ्य सेवा सर्वसुलभ हुने बताए । महानगरवासीलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन प्रत्येक वडामा यस्तो अस्पताल सञ्चालन गर्नुपर्ने बताए । अस्पताल सञ्चालनका लागि महानगरपालिकाले स्वीकृति दिन सक्ने व्यवस्था रहेकाले नव निर्मित भवनबाट अब छिट्टै अस्पतालको सेवा सञ्चालन हुने छ । करिब साढे दुई रोपनी क्षेत्रफल रहेको सो ठाउँमा परिषदले भवन निमार्ण गरिए पछि अस्पताल सञ्चालनको तयारी सुरु गरेको छ ।    करिब तीन दशकदेखि ओपिडी सेवा सञ्चालन गरेको परिषदले सुपथ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी नमूना अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । परिषद्ले सामाजिक सुरक्षा प्राप्त ज्येष्ठ नागरिक, सिमान्तकृत तथा हिंसामा परेका नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । नवनिर्मित भवन हालै समुदायलाई हस्तान्तरणसमेत गरिएको छ । हाल यहाँ २७ चिकित्सक कार्यरत छन् । रासस

एनसेलले ‘लीग अफ क्रिएटर्स’को आयोजना गर्दै

काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लीग अफ क्रिएटर्स’ अभियानको सुरुवात गरेको छ । यसले नेपालभरि फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिइएको छ । क्रिएट, कम्पिट, कन्कर भन्ने उत्साहजनक नारासहित सुरु भएको यस अभियानको प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेहरूलाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्ने कम्पनीले जनाएको छ ।  प्रतियोगितामार्फत सहभागीहरूले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् र साथै पुरस्कारका रूपमा एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन् । सहभागी प्रतियोगिहरुलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी ‍नेपाल, पराक्रम राणा, एकता तण्डुकारजस्ता सम्बन्धित क्षेत्रका व्यक्तित्वहरू र चर्चित क्रिएटर्सहरूले मार्गदर्शन गर्नेछन् । प्रतियोगिताका लागि शुक्रबार (जेठ १८, २०८२)बाट दर्ता खुला गरिएको छ । यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात क्रिएटर्सले सहभागिता जनाउन सक्छन् । सहभागीहरूले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोष्ट गर्नु पर्दछ ।  यसरी पोष्ट गर्दा क्याप्सनमा एनसेललाई @Ncell ट्याग गर्दै तोकिएको आफ्नो मेन्टर जस्तै #TeamSanjog र #NcellLeagueOfCreators2025 ह्यासट्याग लेखिएको हुनुपर्दछ । भिडियो पोष्ट गर्ने अन्तिम म्याद जेठ २७ रहेको छ । देशभरिबाट प्राप्त हुने भिडियोहरूबाट उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरूले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरशिप प्राप्त गर्नेछन् । यसरी छानिने ५० जना क्रिएटर्स ५ जना मेन्टरको नेतृत्वमा रहने समूहहरूमा विभाजन गरिनेछन् र प्रत्येक समूह एनसेल आइकनमा आयोजना हुने कार्यशालामा सहभागी हुनेछन् ।  यो अभियानमा च्यालेन्ज राउन्ड पनि समावेश रहेको छ जसमा सहभागिहरुले आफूलाई प्रदान गरिएको सिर्जनात्मक ब्रिफिङ बमोजिम सामग्री तयार पार्नु पर्ने हुन्छ र विज्ञ निर्णायकहरू त्यसको मूल्याङ्कन गर्नेछन् । ‘लीग अफ क्रिएटर्स’ को ग्रान्ड फिनाले असार १४, २०८२ मा आयोजना गरिनेछ र विजेताको घोषणा गरिनेछ । उत्कृष्ट प्रतिभाहरूलाई मनोरञ्जनात्मक कार्यक्रममाझ सम्मान गरिनेछ ।  मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्नेछ । यस्तै नेपालका शीर्ष क्रिएटर्सहरूसँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसरहरू यस प्रतियोगिताका थप आकर्षणहरू हुन् । साथै एनसेल र अमेरिकी दूतावासका सम्बन्धित प्रतिनिधिहरूले सहभागी क्रिएटर्सहरूको सामग्रीको मूल्यांकन गर्नेछन् ।

सार्वजनिक सवारीसाधन बन्दले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव : नाट्टा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सार्वजनिक सवारीसाधन बन्दले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको जनाएको छ । नाट्टाका महासचिव युविका भण्डारीले आज एक विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हडताल र यातायात सेवा अवरुद्ध भएकामा नाट्टाको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले बन्दका कारण समग्र यात्रुमा मात्र नभई नेपालको पर्यटन क्षेत्रमा प्रतिकूल प्रभाव पारेको बताए ।  'नेपालको पर्यटकीय राजधानी पोखरालगायत अन्य केही स्थानमा हालै पर्यटकीय सवारीसाधन सञ्चालनमा देखिएको अवरोध चिन्ताको विषय हो, पर्यटकीय सवारीसाधनलाई रोक लगाउनु, अवरोध गर्नु वा नियन्त्रण गर्र्नु समग्र पर्यटन व्यवसायप्रति पूर्ण नकारात्मक प्रभाव पर्ने कार्य हो,' नाट्टाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नाट्टाले यस्ता घटनाले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई मात्र नभई, आन्तरिक पर्यटकलाई समेत गन्तव्यमा पुग्न असहज बनाइएको तथा पर्यटक तथा यात्रुमा भय, असुरक्षा र निराशाको भावना उत्पन्न गराइरहेको जनाएको छ । 'यस्ता कार्यले नेपालप्रति अन्तरराष्ट्रिय पर्यटन बजारमा गलत सन्देश प्रवाह गरिरहेको र यसले पर्यटन प्रवद्र्धनमा दीर्घकालीन असर पर्न सक्ने खतरा रहेको छ, पर्यटन नै नेपालको समृद्धिको मेरुदण्ड हो भन्ने यथार्थलाई मनन गरी यसको संवद्र्धन गर्ने सबै सरोकारवाला निकायको साझा दायित्व रहन्छ,' महासचिव भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस्तै, आजै टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले समेत एक विज्ञप्ति जारी गरी पर्यटनका साधनमा भएको अवरोधप्रति आपत्ति जनाएको छ । टिवानका अध्यक्ष भीष्म न्यौपानेले पर्यटकीय सवारीसाधनको सञ्चालनलाई स्वतन्त्र र सुरक्षित रुपमा सञ्चालन गर्न सहयोग गर्न सबैमा आग्रह गरे । अध्यक्ष न्यौपानेले यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रलाई नै गम्भीर असर पर्ने भएकाले निर्बाध रुपमा सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।